Kanakai Online

सुरुङ्गामा अटो र मोटरसाईकल जुध्दा १ को मृत्यु ६ घाईते


मङ्गलवार, वैशाख ८, २०८३ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ३ नयाँ बस्तीमा मंगलवार विहान आज अटो र मोटरसाइकल एकापसमा ठोक्किदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

मंगलवार बिहान ११ः३० बजे कनकाई नगरपालिका ३ नयाँबस्तीस्थित पूर्व–पश्चिम राजमार्गमा बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको प्र१–०१–००१ह ८२५२ न.को अटो अनियन्त्रित भइ बिपरित दिशाबाट आउँदै गरेको मे ५ प ६६२० नं. को मोटरसाइकलसंग ठोक्किएको थियो ।

दुर्घटनामा अटोमा सवार हल्दिबारी ३ बस्ने बर्ष ६८ की मन्जुधरी ढकालको मृत्यु भएको हो । टाउकोमा चोट लागेर गम्भीर घाइते हुनुभएकी ढकालको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका क्रममा दिउँसो ४;३५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतकको शव सोही अस्पतालमै रहेको छ ।

त्यस्तै अटोमा सवार हल्दिबारी ३ बस्ने बर्ष ५७ का जीवन ढकालको ओठमा चोट लागेको छ ।सामान्य अवस्थाका उनको प्रधान मेडिकल सुरुङ्गामा उपचार भइरहेको छ ।

त्यस्तै अटोमा सवार हल्दिबारी ३ बस्ने बर्ष ५० की हरिमाया ढकाल , सोही ठाउँ बस्ने बर्ष ३५ की भिमा ढकाल ,माधब ढकालका छोरा बर्ष १३ का रोजन ढकाल , हल्दिवारी ५ बस्ने विनोद नेपालका छोरा बर्ष १३ का प्रदिप नेपाल र मोटरसाइकल चालक मोरङ मिक्लाजुङ ६ बस्ने बर्ष ३७ का चन्द्रबहादुर खत्री गंभीर घाइते हुनुभएको छ । घाईतेहरुको बिर्तामोडको बीएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले अटो, मोटरसाइकल र अटो चालक हल्दिबारी ३ बस्ने बर्ष ४६ का खेमराज गौतमलाई नियन्त्रणमा लिएको छ । घटनावारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।