Kanakai Online

चन्द्रगढी महिला गोल्डकपमा पुलिसको फराकिलो जित


सोमवार, वैशाख ७, २०८३ |

कनकाई अनलाईन
झापाको चन्द्रगढीमा जारी प्रथम महिला गोल्डकपमा आयोजक चन्द्रगढी युवा क्लवलाई ६—० गोल अन्तरले पराजित गर्दै उपाधिको दाबेदार मानिएको नेपाल पुलिस क्लव क्वार्टर फाइनमा प्रवेश गरेको छ ।
क्वार्टर फाइनलमा पुलिसले भारतको रानी लक्ष्मीबाई स्पोर्टस एकेडेमीसँग प्रतिस्पर्धा गर्नेछ । आजको खेलको जितमा पुलिसको जितमा स्ट्राइकर रेखा पौडेलले ह्याट्रिक पूरा गर्नुभयो । दुई गोल मिना देउवा र एक गोल अनुष्का शेर्पाले गर्नुभयो ।
खेलको पहिलो मिनेटमै रेखा पौडेलले पुलिसका लागि गोल गर्नुभयो । डिबक्समा रहनुभएकी पौडेलले अर्की स्ट्राइकर मिना देउवाको हेडरलाई सदुपयोग गर्दै गोल गर्न सफल हुनुभयो । पुलिसको लागि दोस्रो गोल मिना देउवाको नाममा रह्यो । रेखा पौडेलले गरेको पावरफुल प्रहार चन्द्रगढीकी गोलकिपर सवनम राईले नियन्त्रणमा लिन नसकेपछि देउवाले त्यसलाई सुन्दर गोलमा परिणत गर्दै अग्रता दोब्बर बनाउनुभयो ।
खेलको २९ औँ मिनेटमा सम्झना लावतीको पासमा मिना देउवाले व्यक्तिगत दोस्रो गोल गर्नुभयो । ३८ औँ मिनेटमा रेखा पौडेलले मैदानको मध्यभागबाट सिंगल खेल्दै गोल गर्नुभयो ।
पहिलो हाफको ४० मिनेट ४–० को स्कोर बनाएको पुलिसले बाँकी २ गोल दोस्रो हाफमा लगाएको थियो । दोस्रो हाफको ७२ औँ मिनेटमा सब्सिच्युट खेलाडी अनुष्का शेर्पाले पुलिसका लागि अर्काे गोल गर्नुभयो ।
खेलको ७७ औँ मिनेटमा रेखा पौडेलले ह्याट्रिक पूरा गर्नुभयो । मिना देउवाको पासमा हेडमार्फत गोल गर्दै रेखाले जारी प्रतियोगिताको पहिलो ह्याट्रिक पूरा गर्नुभयो । रेखा खेलको प्लेयर अफ द म्याच हुदै नगद ११ हजार रुपैँया प्राप्त गर्नुभयो । मंगलबारको खेल सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब र ओखलढुंगाको पदमा स्पोर्टिङ क्लबबीच हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ र ट्रफी पाउनेछ । त्यस्तै, उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ । यो पुरस्कार राशि महिला फुटबलमा नेपालकै सर्वाधिक रहेको दावी गरिएको छ ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ प्राप्त गर्ने छन ।