Kanakai Online

चन्द्रगढी महिला गोल्डकप भुटानको थिम्पु सिटी पराजित


आइतवार, वैशाख ६, २०८३ |

कनकाई अनलाईन
झापाको चन्द्रगढीमा आयोजित प्रथम महिला गोल्डकपमा चर्च ब्वाइज युनाइटेड काठमाण्डौले पाहुना टोली भुटानको थिम्पु सिटी महिला फुटबल क्लवलाई पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको छ । आईतवार सम्पन्न खेलमा चर्च ब्वाइजले भुटानको थिम्पु सिटीको चुनौती ३–२ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।
खेलको अग्रता चर्च ब्वाईजले खेलको २७ औँ मिनेटमा बनायो । भुटानकी गोलकिपर अगाडि बढेको अवस्थामा चर्च ब्वाइजकी मरियम खातुनले दायाँ बार च्याप्दै डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत बनेको थियो ।
पहिलो हाफको अतिरिक्त समयमा चर्च ब्वाईजकै तर्फबाट खातुनले नै दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाउनुभयो । वर्षा ओलीले मिलाइदिएको पासमा खातुनले प्रहार गरेको प्रहारले भुटानका खेलाडीलाई टच हुँदै गोलमा परिणत भएको थियो ।
पहिलो हाफ २–० को अग्रता बनाएको चर्चले दोस्रो हाफको ४४ औँ मिनेटमा पहिलो गोल खायो । भुटानकी रोता राईले चर्चकीे गोलकिपरलाई बिट गर्दै गरेको प्रहार गोलमा परिणत भएको थियो ।
भुटानले अर्काे गोल उपहारमार्फत पायो । ५८ औँ मिनेटमा प्रिया घलेको क्रसलाई चर्चकी डिफेन्डर मनिता तामाङले क्लियर गर्न खोज्दा गोल भएको थियो । ७९ औँ मिनेटसम्म चर्चसँग २–२ को बराबरी खेलेको भुटानले खेलमा अन्तिम गोल डिफेन्डरको गल्तीमा गोल खान पुगेको थियो ।
मैदानको मध्य भागमा पाएको बललाई चर्च ब्वाईजकी वर्षा ओलीले गोलकिपरलाई बिट गर्दै गोल गर्नुभयो ।
खेलको प्लेयर अफ द म्याच विजेता चर्च ब्वाइजकी २ गोलकर्ता मरियम खातुन हुनुभयो । उहाँले नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो । सोमबारको खेल नेपाल पुलिस क्लब र आयोजक चन्द्रगढी युवा क्लबबीच हुने छ ।
प्रतियोगिताको विजेताले नगद ११ लाख रुपैयाँ र ट्रफी पाउनेछ । त्यस्तै, उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछ । यो पुरस्कार राशि महिला फुटबलमा नेपालकै सर्वाधिक हो । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउनेछ ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ पाउनेछन् ।
फोटो ः सेतो जर्सीमा चर्च ब्वाईज र रातो जर्सीमा थिम्पु सिटीका खेलाडीहरु