Kanakai Online

झापामा अर्को सर्र्वाधिक राशीको महिला फुटबल सुरु


शनिवार, वैशाख ५, २०८३ |

कनकाई अनलाईन
झापाको भद्रपुरमा शनिबारदेखि सर्वाधिक राशी पुरस्कार रहेको प्रथम महिला गोल्डकप सुरु भएको छ ।
उद्घाटन खेलमा पोखराको आरएस फुटबल क्लवलाई ६—० गोल अन्तरले पाखा लगाउँदै सेमिफाईनलमा प्रवेश पाएको छ ।
एकपक्षीय बनेको उक्त खेलमा आर्मीले पोखराको गोल पोस्टमा खेलको ११ औँ मिनेटदेखि नै गोलको बर्षा सुरु गरेको थियो । खेलमा आर्मीका लागि दिपा शाहीले पहिलो गोल गर्नुभयो । बिमला चौधरीले गरेको प्रहारलाई पोखराकी गोलकिपर मनिषा तामाङले नियन्त्रणमा लिन असफल हुँदा उहाँको हातबाट फुत्किएको बललाई चौधरीले पोष्टको दिशा दिनुभयो ।
२६ औँ मिनेटमा आर्मीले अग्रता दोब्बर बनाउन सफल बनेको थियो । बिमला चौधरीले एकल प्रयासमा डिबक्सबाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । यसैगरि २८ औँ मिनेटमा अर्काे गोल थप्दै बिमला चौधरीले टिमका लागि तेस्रो गोल गर्नुभयो । यसैगरी खेलको ३५ औँ मिनेटमा चन्द्रा भण्डारीले आर्मीका लागि चौथो गोल गर्नुभयो । दिपा शाहीले प्रहार गरेको कर्नरलाई हेडमार्फत भण्डारीले गोल गर्नुभएको थियो ।
पहिलो हाफ ४–० को अग्रता बनाएको आर्मीले दोस्रो हाफमा थप २ गोल गरेको थियो । खेलको ५० औँ मिनेटमा बिमला चौधरीले गरेको प्रहार गोल किपरले नियन्त्रणमा लिन नसकेपछि आर्मीकी स्ट्राइकर जेनिफर राना मगरले टिमको लागि पाँचौँ गोल गर्नुभयो ।
यता खेलको ६२ औँ मिनेटमा चन्द्रा भण्डारीले गोल गर्दै खेल ६—० ले जित सुनिश्चित गर्नुभयो ।
खेलको प्लेयर अफ द म्याच विजेता टिम आर्मीका बिमला चौधरी हुनुभयो उहाँले नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो । आइतबारको दोस्रो दिनको खेल भुटानको थिम्पु सिटी फुटबल क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, आरएस पोखरा फुटबल क्लब, भुटानको थिम्पु सिटी क्लब, चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस क्लब, आयोजक चन्द्रगढी युवा क्लब, भारतको रानी लक्ष्मीबाई स्पोर्टस एकेडेमी, सशस्त्र प्रहरीको एपिएफ क्लब, संकटा फुटबल क्लब र ओखलढुंगाको पदमा स्पोर्टस् क्लबको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेताले नगद ११ लाख र उपविजेताले पाँच लाख रुपैयाँ नगद प्राप्त गर्ने छ । प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ११ हजार रुपैयाँ पाउनेछ ।
त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख रुपैयाँ, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।