Kanakai Online

सुरुङ्गामा ६०८ ग्राम लागुऔषध सहित २ जना पक्राउ


शुक्रवार, वैशाख ४, २०८३ |

कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका ५ चप्रामारीमा ठूलो परिमाणमा लागूऔषधसहित खैरो हिरोईन सहित प्रहरीले दुईजना पक्राउ गरेको छ ।

शुक्रवार बिहान ११.३० बजे झापा गाउँपालिकाबाट सुरुङ्गातर्फ आउँदै गरेको बीआर३७ आर १८६६ नं को मोटरसाइकललाई कन्काई ५ तल्लो चप्रामारीमा चेकजाँच गर्दा प्लास्टिकसहित ६०८ ग्राम ५०० मिलिग्राम र प्लाष्टिकबाहेक ५६३ ग्राम ६२० मिलिग्राम ब्राउन सुगर फेला परेको हो । सो लागूऔषधसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा एकजना नेपाली र अर्का भारतीय रहेका छन् । झापा गाउँपालिका वडा नं. ६ बस्ने बर्ष २२ का साफिक उलमिया र भारत डिगलबैंक थाना वडा नं. १ बस्ने बर्ष २२ का निसार आलमलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लागूऔषध व्युरो बिराटनगर र इलाका प्रहरी कार्यालय सुरुङ्गाको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाको आधारमा झापा गाउँपालिकाबाट सुरुङ्गातर्फ आउँदै गरेको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा उनीहरुले बोकेको हाते झोलाभित्र खानाको बट्टामा ६ पोका ब्राउन सुगर भेटिएको हो ।

उनीहरु विराटनगरबाट आएको र सोही ठाउँबाट लागूऔषध व्युरो बिराटनगरको टोलीले पछ्याउँदै आएको प्रहरीले जनाएको छ । उनीहरुलाई लागूऔषध र मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।