Kanakai Online

कनकाई विपत कोषमा कनकाई उवासंघको ७५ हजार


बुधवार, चैत १९, २०७६ |

कनकाई अनलाईन
कनकाई नगरपालिकाले कोरोना महामारीबाट आफ्ना नगरपालिकाका नागरिकलाई सहयोग गर्न बनाएको कोरोना राहत कोषमा कनकाई उद्योग वाणिज्य संघले ७५ हजार रुपैँया सहयोग गरेको छ ।

उद्योग वाणिज्य संघका अध्यक्ष त्रिलोचन चिमरियाले उक्त रकम नगरपालिकाद्धारा स्थापना गरिएको कोरोना राहत कोषमा जम्मा गरिने कनकाई अनलाईनलाई बताउँनुभयो । महामारीका बेला देश तथा विदेशमा रहनुहुने सहयोगी दातासगै कनकाई उद्योग वाणिज्य संघले समेत हाल तत्कालिन रुपमा उक्त रकम सहयोग गरेपनि पछिपनि आवश्यकताअनुसार थप सहयोग गर्ने कनकाई उद्योग वाणिज्य संघका महासचिव तुलसी बिमलीले बताउनुभयो । हाल कनकाई नगरपालिका र विभिन्न संघ संस्थाको पहलमा कनकाई उद्योग वाणिज्य संघको सभाहलमा २० जनालाई बस्न मिल्ने क्वारेन्टाइन बनाएको समेत बिमलीले बताउँनुयो ।
यस कोरोना राहत कोषमा यसअघि कनकाई ३ निवासी हाल अष्टेलियामा रहनुभएका उपे्रतीले २५ हजार , रोटरी क्लव सुरुङ्गाले १ लाख १ हजार रुपैँया , कनकाईनगर सुरुङ्गा घरभई हाल हङ्गकङ्ग निवासी रभि श्रेष्ठले १ लाख २३ हजार र नेकपा कनकाई नगर कमिटीद्धारा ५१ हजार रुपैँया प्रदान गरिसकेको छ भने कनकाई नगरपालिकाका सम्पुर्ण जनप्रतिनिधिले एक महिनाको तलव र कर्मचारीबाट समेत सहयोग रकम जुटाएर कम्तीमा ३५ लाख रुपैँयाबाट सुरु हुनेगरिको कोरोना विपत कोषको स्थापना गरेको हो । यो राहत कोषमा रकम जम्मा हुने क्रम जारी छ भने भोलीबाट कनकाई नगरपालिकाका गरिब तथा अतिकम आय भएका परिवारलाई खाद्यान्न प्रदान सुरु गरिने नगरप्रमुख पोखरेलले बताउँनुभयो ।
यस कोषमा थप सहयोग गरि महाविपत्तीमा सहयोग गर्न नगरपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ ।
रकम जम्मा गर्नका लागि कनकाई नगरपालिकाको कनकाई नगर विपत व्यावस्थापन कोषको नेपाल बैँकको खाता नम्बर १४७०३००००००००५००४००२ मा जम्मा गरिदिन समेत अनुरोध गरेको छ ।
कनकाई नगरपालिकाले विपत व्यावस्थापन कोषबाट पिडित व्याक्तिहरुको औषधि उपचार तथा राहत सामाग्रीको व्यावस्थापन मिलाइने र कोषको पारदर्शिताका लागि नगरको वेवसाइट र संचार माध्यमबाट खर्च र दाताको रकम सार्बजनिक गरिने समेत कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभएको छ ।
नगरपालिकाले कनकाई नगरपालिकाभित्र दुर्गापुरको दलित भवन र सुरुङ्गा अतिथि सदनमा दुई स्थानमा ४० बेड क्षमताको क्वारेन्टाइन स्थापना गरि त्यहाँ रहेका नागरिकलाई निशुल्क खाना, बस्न, औषधि उपचार र फ्रि वाईफाईको समेत प्रबन्ध गरेको छ ।
नगरपालिकाले नगरभित्र रहेका ९ बटै वार्डका अत्यन्तै गरिब मजदुर र कम आय भएका नागरिकको तथ्याङ्ग संकलन गरि उनीहरुलाई कम्तीमा १५ दिन खान पुग्ने चामल, तेल , नुन र साबुन पर्सी बिहीवारबाट वितरण गर्न लागेको जनाएको छ । गरिब परिवारको तथ्याङ्ग संकलनका लागि प्रत्येक वार्डमा रहेका जनप्रतिनिधि र टोल विकास समितिलाई जिम्मा दिइसकिएको समेत नगरप्रमुख पोखरेलले बताउनुभयो ।

सम्बन्धित खबर