कनकाई अनलाईन
कोरोना भाइरसको विरुद्धमा देशका सबै तहका सरकार यतिबेला जुधिरहेका छन । कतिपय नगरपालिकामा मेयर आफ्फै लाठी लिएर सडकमा निस्किएको समाचार आइरहेको बेला मध्य झापाको कनकाई नगरपालिकाले भने कोरोना संक्रमणलाई न्यूनीकरण गर्न कनकाई विहिवारदेखि सुरुङ्गामा थप ११ बेडको क्वारेन्टाइन संचालनमा ल्याएको छ ।
कनकाई नगरपालिका ३ सुरुङ्गास्थित कनकाई उद्योग वाणिज्य संघमा वर्तमान परिस्थितीको व्यवस्थापनकालागि वडाको विपद् व्यवस्थापन समितिको संयोजनमा क्वारेन्टाइन संचालनमा ल्याइएको समितिका संयोजक एवम् कनकाई ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरीयाले वताउनुभयो । विजुली बत्ती, पिउने पानी सहितको राम्रो व्यवस्था भएको सुविधा सम्पन्न वाणिज्य संघको भवनमा आवश्यक परेमा अन्य बेड थप गर्ने गरी हाललाई सरसफाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामाग्रीसहित स्वास्थ्य र सुरक्षा समेतको व्यवस्थापन गरिएको वडाअध्यक्ष चिमरीयाको भनाई छ ।
यस अघि कनकाई नगरको दुर्गापुरस्थित दलित सामुदायिक भवनमा २१ बेडको क्वारेन्टाइन व्यवस्थापन गरिएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित अन्य आवश्यक सामाग्रीको व्यवस्थापन गरिएको क्वारेन्टाइनमा हाल ८ जना बस्दै आएको वताइएको छ । आवश्यक परेमा महिलाहरुकालागि लक्ष्मीपुरमा समेत क्वारेन्टाइनको व्यवस्था मिलाइएको कनकाई नगरका प्रमुख राजेन्द्रकुमार पोखरेलले वताउनुभयो ।
कनकाई नगरवासी सवैजना कोरोना भाइरसका विषयमा आफैं पनि सचेत भइसकेका कारण स्वतस्फूर्त होमक्वारेन्टाइनमा रहेकाले अन्य क्वारेन्टाइनमा बस्नु पर्ने अवस्था नहोस् भन्ने कामना कर्दै नगरप्रमुख पोखरेलले बिपतको यो समयमा कनकाई भित्र रहेका सवै क्रियाशिल संघसंस्था, व्यक्ति समुदायलाई आ आफ्ना क्षेत्रवाट सचेत भइ अन्य सवैमा सचेतना जगाउँन अनुरोध गर्नुभयो ।