कनकाई अनलाईन
सुखानी सहिद स्मृति गोल्डकपमा कनकाई नगर खेलकुद विकास समिति झापाले विजयी सुरुवात गरेको छ ।झापा अर्जुनधारा ९ स्थित नमूना खेलमैदानमा आज ९बुधबार०देखि सुरु चौथो संस्करणको उद्घाटन खेलमा इलाम जिल्ला फुटबल संघलाई २–० गोलले पराजित गर्दै कनकाई क्वाटरफाइनलमा प्रवेश गरेको हो ।खेलको १३औँ मिनेटमा कुसुम खतिवडाले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् ।
पहिलो हाफ एक गोलले अग्रता लिएको कनकाईले दोस्रो हाफमा थप गोल गर्दै जीत पक्का गरेको हो ।दोस्रो हाफको २७ मिनेटमा कनकाईकी ममता राउतले गोल गरेकी थिइन् । खेलको वुमन अफ दी म्याच कुसुम खतिवडा घोषित भइन् । उनलाई आयोजक सुखानी सहिद स्मृति प्रतिष्ठानका उपाध्यक्षद्वय अर्जुन राई र टंक भट्टराईले नगद ३ हजार पुरस्कार प्रदान गरे । बिहीबारको खेल पाँचथर जिल्ला फुटबल संघ र पारिजात महिला फुटबल क्लब झापाबीच हुनेछ ।महिला फुटबल खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले सुखानी सहिद स्मृति प्रतिष्ठान अर्जुनधारा–९ झापाको आयोजनामा १ नम्बर प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सुरु भएको हो । पराजित टिमलाई प्रतिष्रठानका महासचिव हर्कराज राईले मायाको चिनो प्रदान गरेका थिए ।गोल्डकपमा ९ जिल्लाका १० टिमको सहभागिता रहेको छ ।
गोल्डकपको विजेताले नगद १ लाख २५ हजार पाउँदा उपविजेताले नगद ७५ हजार पाउनेछ । अन्य विधागत पुरस्कारतर्फ बेस्ट गोलकिपर, बेस्ट डिफेन्स, बेस्ट मिडफिल्डर, बेस्ट फरवार्डले जनही ७ हजार पाउँदा फाइनल खेलको उत्कृष्ट खेलाडीलाई नगद ५ हजार प्रदान गरिनेछ ।त्यस्तै, फेयर प्ले टिमलाई आयोजकले नगद १० हजार प्रदान गर्नेछ भने वुमन अफ दी टुर्नामेन्ट बन्ने खेलाडीलाई नगद १२ हजार पुरस्कार प्रदान गरिनेछ ।यसअघि भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथि नेकपाका प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेले गोल्डकपको उद्घाटन गरेका थिए । गोल्डकप आयोजक मुल समितिका संयोजक बृख प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा सुखानी सहिद स्मृति उद्यानका अध्यक्ष टंक बरालले स्वागत गरेका थिए भने व्यवस्थापक पुष्प तिवारीले कार्यक्रम सञ्चालन गरेका थिए ।