लीलाराज झापाली
झापामा जारी तेस्रो सताक्षी गोल्डकपमा लिग बिजेता मछेन्द्रले आर्मीसामु स्पष्ट जित निकाल्दै फाइनलमा थ्री स्टारसगको भेट पक्का गरेको छ ।
शुक्रवार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा मछिन्द्रले आर्मीलाई २—० ले हराउदै फाइनलमा प्रवेश पाउदा आर्मी फाइनल खेलको होडबाट विदा भएको छ ।
आर्मी सताक्षी गोल्डकपको डिफेन्डिङ च्याम्पियन समेत हो । यो हार सगै आर्मीले एकसाता अघि लिगमा भोगेको हारको बदला लिनबाट समेत चुकेको छ । आर्मीको हारमा सदाझै आर्मीको डिफेन्स लाइनकै कमजोरी रहेको थियो । आर्मीको पराजयमा आर्मीका पहिलो रोजाईका गोलकिपर विकेश कुथुको समेत अभाव देखिएको थियो ।
मछेन्द्रका लागि पहिलो गोल खेलको २१ औ मिनेटमा आर्मीका गोलकिपर विवश चौधरी विट भएको अवस्थामा रेजिन सुब्बाले गर्नुभयो । दोस्रो गोल मछेन्द्रले खेलको ७४ औ मिनेटमा उपहार गोलका रुपमा पाएको थियो । मछेन्द्रका स्टार खेलाडी बिमलघर्ती मगरको क्रस पासमा अर्का खेलाडी विशाल राईको कडा प्रहारलाई क्लियर गर्न खोज्दा आर्मीका डिफेन्स विकास खबासले आफ्नै गोलपोस्टभित्र छिराउनुभएको थियो ।
पहिलो हाफ १—० ले पछि परेको आर्मीले दोस्रो हाफमा गोलको खोजी गरिरहेको वेला अचानक आत्मघाती गोल खाएपछि आर्मीले थप लय गुमाएको थियो । मछिन्द्रका खेलाडीहरुले खेलको सुरुवाती समयदेखिनै आर्मीसामु दवाव बनाएपनि थप गोल भने हुन पाएन ।
प्रतियोगिताको छैटौँ मिनेटमा मच्छिन्द्रका विमल घर्ती मगरको २५ यार्ड टाढाको प्रहार आर्मीका गोल किप्पर विवश चौधरीले पञ्च गरेर बचाउनुभयो । २४ औँ मिनेटमा मच्छिन्द्रका अडेलाजा सोमिडेले आर्मीका चारजना डिफेन्सबाट छक्याएर गरेको प्रहार पनि आर्मीका गोल किपर चौधरीले पञ्च गरेर बचाउनुभयो । २६ औँ मिनेटमा पिटर सेगुनको प्रहार बार नजिकैबाट बाहिरियो । ३१ औँ मिनेटमा बिमल घर्ती मगरको प्रहार पनि सहि दिशा लिन पाएन ।
यता आर्मीले समेत खेलमा केहि अवशरहरु श्रृजना गरेको थियो ,खेलको पहिलो मिनेटमै आर्मीका जर्जप्रिन्स कार्कीको कडा प्रहार बाहिरिएको थियो । नवौँ मिनेटमा आर्मीका सन्तोष तामाङले गरेको प्रहार मच्छिन्द्रका गोल किप्पर सूर्य अधिकारीले बचाउनुभयो । २८ औँ मिनेटमा कार्कीकै फ्रिकिक प्रहार बारको निक्कै माथि आकाशिएको थियो । खेलको ५७ औँ मिनेटमा सन्तोष तामाङको फ्रिकिक गोल किप्पर अधिकारीले पञ्च गरेर बचाउनुभयो । खेलको म्यान अफ दि म्याच मच्छिन्द्रका रेजिन सुब्बा हुनुभयो । उहाँले नगल १० हजार रुपैयाँ प्राप्त गर्नुभयो । उपाधिका लागि अब मछिन्द्रले आइतवार थ्री स्टारको सामना गर्ने छ ।
सतासीधाम स्पोर्टिङ क्लबले आयोजना गरेको प्रतियोगिताका विजेताले ६ लाख नगद पाउनेछ भने उपविजेताले ३ लाख पाउनेछ ।