Kanakai Online

कनकाई रोटरीद्धारा न्यानो कपडा र ह्वील चेयर


शनिवार, पौष १२, २०७६ |

कनकाई अनलाईन
राटरी क्लव अफ सुरुङ्गाले जाडोलाई लक्षीत गरेर वालवालिकाहरुलाई न्यानो कपडा साथै विभिन्न क्षेत्रका शारिरीक रुपमा अशक्तलाई ह्वील चेयर वितरण गरेको छ ।

नगरपालिका २ स्थित पञ्चकन्या प्राविमा अध्ययनरत ५२ जना वालवालिकाहरुलाई विद्यालय परिसरमै उपस्थित भएर क्लवका पदाधिकारीहरुले न्यानो कपडा वितरण गरेका हुन् । नर्सरीदेखी कक्षा तीनसम्म पठनपाठन हुँदै आएको यस विद्यालयको शैक्षिक स्तर वृद्धिकालागि यस अघि पनि अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा क्लवले विद्यालय पोशाक सहित शैक्षिक सामाग्री वितरण गरेको क्लवका अध्यक्ष कुमारमणि पोखरेलले वताउनुभयो ।

त्यस्तै रोटरी क्लवले शारिरीक रुपमा अपाङ्गता भएका पाँचजना ग्रामिण क्षेत्रका असक्तहरुलाई ह्वील चेयर वितरण गरेको छ । ह्वील चेयरको अति आवश्यक्ता भए पनि कुनै संघ संस्थाहरुको पनि नजर नपुगेको साथै आर्थिक अभावका कारण समेत ह्वील चेयरको व्यवस्था गर्न नसकेर दुःखले जीवन गुजारा गरिरहेका शारिरीक रुपमा अशक्त व्यक्तिहरुको पहिचान गरी घरैमा गएर ह्वील चेयर वितरण गरिएको क्लवका सचिव लुवराज उप्रेतीले वताएका छन् । ह्वील चेयर विशेष गरी झापा गाउँपालिका, बाह्रदशी गाउँपालिका र कनकाई नगरको ग्रामिण क्षेत्रमा रहेका अति विपन्न परिवारका पूर्ण रुपमा अपाङ्गता भएका व्यक्तिहरुलाई वितरण गरिएको वताइएको छ ।

रोटरी क्लव अफ सुरुङ्गाका अध्यक्ष कुमारमणि पोखरेलको सभापतित्व एवम् उपाध्यक्ष शिवकुमार कडेलले संचालन गरेको दुवै किसिमका सामाग्री वितरण कार्यक्रममा क्लवका पदाधिकारीहरु साथै स्थानीय अभिभावकहरुको उपस्थिती रहेको वताइएको छ ।