Kanakai Online

हेलिबाट पुष्पबर्षा गर्दै मेचीनगर महोत्सव सुरु


बुधवार, पौष ९, २०७६ |

लीलाराज झापाली ।
धुलावाारी , पुस ९ गते । नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरि झापाको मेचीनगर धुलावारीमा बुधवारदेखि तेस्रो अन्तराष्ट्रिय औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्सव सुरु भएको छ ।
महोत्सवको प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले विधिवत उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई भव्य बनाउने क्रममा हेलिकप्टरबाट पुष्पबर्षा गराउनको साथै यस क्षेत्रका विभिन्न जनजातिहरुको झाँकीको समेत प्रस्तुती राखिएको थियो ।
आगामी पुस १७ गतेसम्म चल्ने सो महोत्सवमा नेपाल, भारत, पाकिस्तान र वंगलादेशका गरि १ सय ९० स्टलहरु राखिएको छ । सो अवशरमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरुलाई हेलिकप्टरबाट झापा जिल्ला तथा छिमेकी जिल्लाका विभिन्न पर्यटकिय क्षेत्रहरुको अवलोकन समेत गराइने आयोजक समिति मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनाले बताउँनुभयो ।
महोत्सवमा स्वदेशी उत्पादन , खाद्य परिकार, मिल मेशिनरी उत्पादन, कृषि उत्पादन, शिक्षा पर्यटन, शिक्षा र सेवा सम्बन्धि स्वदेशी तथा विदेशी सामाग्रीहरुको प्रदर्शन, बिक्री तथा प्रवद्धन गरिने आयोजक समितिका संयोजक भुमि पौड्यालले बताउनुभयो ।
महोत्सवको उद्घाटन गर्नुहुदै प्रदेश नम्वर एकका मुख्यमन्त्री शेरधन राईले प्रदेश नम्बर एकलाई आगामी १० बर्षभित्रमा देशकै सबैभन्दा उत्कृष्ट पर्यटन गन्तव्य बनाउने लक्ष्यका साथ तयारी थालेको बताउँनुभयो । यसका लागि प्रदेश सरकारले पर्याप्त बजेट बिनियोजन गरिसकेको र यसका लागि केहि दिनभित्रै आवश्यक निति कानुनको तयारी गरिरहेको जानकारी दिनुभयो । प्रदेश नम्बर एकका विश्वकै अग्लो हिमाल सगरमाथादेखि लिएर देशकै होचो कचनकवल, विश्वकै होचो अरुण उपत्यका समेत यसै प्रदेशमा रहेको भन्दै यसै भ्रमण बर्षमा समेत कम्तीमा ५ लाख पर्यटक प्रदेशले भित्राउने गरि तयारी र प्रचार थालिएको जानकारी दिनुभयो । यस भ्रमण बर्षलाई सफल बनाउन समेत प्रदेश सरकारले यसैबर्ष २० करोडको कोष स्थापना गरेर अगाडि वढेको जानकारी दिनुभयो ।
सरकारले पर्यटनको साथै उर्जा र कृषिलाई समेत प्रमुख प्राथमिकतामा राखेर कृषिलाई औधोकिकरण गदै आयात प्रतिस्थापन गरि १० बर्ष भित्रमा कोहीपनि प्रदेशका युवा विदेश जान नपर्नेगरि रोजगारीको वातावरण श्रृजन ागर्ने बताउँनुभयो । मन्त्री राईले पुजीका कारण कोहीपनि युवाले आफ्नो व्यापार व्यावसाय गर्नबाट बंञ्चित हुनु नपर्नेगरि मुख्यमन्त्री उद्यम कार्याक्रम लागु गरिसकिएको र यसका लागि यसै आर्थिक बर्षबाट सुरु हुनेगरि २० करोड रुपैँयाको कोष समेत स्थापना गरिसकिएको बताउँनुभयो ।

प्रदेशमा आगामी ५ बर्षभित्रै १५ सय मेगावाट बिद्युत उत्पादन गरिने र प्रदेशमा स्थगित रहेका कतिपय सानाठुला जलविद्युत आयोजनाको समस्या समाधानका लागि आफु स्वयम लागि परिरहेको जानकारी दिनुभयो । मन्त्री राईले नेपालको पुर्वीद्धार मेचीनगरबाट नजिक्कैको दुरीमा भारत, बंगलादेश , भुटान र चिन समेत रहेकोले यस क्षेत्रको महोत्सवले भ्रमण बर्ष सफल बनाउन ठुलो अर्थ राख्ने विश्वास व्यक्त गर्नुभयो । अर्को प्रसंगमा बोल्दै मुख्यमन्त्री राईले मेचीनगरसग ३६ किलोमिटर मात्रै नजिक्कैको क्षेत्रमा रहेको छिमेकी राष्ट्र बंगलादेशमा नेपालका उत्पादन चिया, अम्मिसो, अलैची , सिमेन्ट लगायातका सामाग्री निर्यात गर्नका लागि यसअघि समेत छलफल गरिसकेको बताउँदै चाडै सरकार स्तरबाटै बार्ता र सहमति गरि दुईदेशविच आयात निर्यातको वातावरण बनाउने बताउँनुभयो । हाल बंगलादेशमा नेपाली उत्पादन निर्यातमा वढी कर लगाइएकोले नेपाली उत्पादनले प्रतिस्पर्धा गर्न नसक्दा ठुलो परिणामको निर्यात व्यापार हुन नसकिरहेको मन्त्री राईले बताउँनुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य गोपालकुमार बुडाथोकी, राधा थापा, मेचीनगर नगरपालिकाका प्रमुख बिमल आचार्य , उद्योग वाणिज्य संघका प्रदेश नम्बर एकका अध्यक्ष नरेन्द्रकुमार खड्का लगायातले नेपालको सुदूरपुर्वी मेचीनगर नाकाबाट छिमेकी मुलुक बंगलादेश, भारत, चिन र भुटानबाट समेत हवाई तथा स्थल मार्गबाट प्रसस्त पर्यटक भित्राउने र स्वदेशी कृषि तथा अन्य सामाग्रीहरुको आयात निर्यात गरि सक्दो फाइदा लिन सरकारले सक्दो कुटनैतिक पहल थाल्न सुझाव दिनुभयो ।
फोटो ः तेस्रो अन्र्तराष्ट्रिय महोत्सव उद्घाटन गर्नुहुदै मुख्यमन्त्री राई र हेलिकप्टरबाट पुष्पबर्षा गरिदै तस्वीर लीलाराज झापाली