कनकाई अनलाईन
आगामी मंसिर २८ गते शनिवारका दिनदेखि कनकाई मावि सुरुङ्गाको खेल मैदानमा चौथो पालिका स्तरीय कनकाई नगरकप फुटबल प्रतियोगिता हुने भएको छ ।
आयोजक कनकाई खेलकुद प्रतिष्ठानले आज सुरुङ्गास्थित एसपि क्याफेमा पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको तयारी पूरा गरिसकेको जानकारी गराइएको छ । प्रतिष्ठानका अध्यक्ष दुर्गा प्रसाईले अघिल्ला संकरणभन्दा यस बर्ष पुरस्कारको राशीमा समेत बृद्धि गरिएको जानकारी दिनुभयो । प्रथम पुरस्कार १ लाख ११ हजार १ सय ११ र दोस्रो पुरस्कार ५५ हजार ५ सय ५५ रुपैँया पाउने छन । प्रथम पुरस्कार कनकाई नगरपालिका र दोस्रो पुरस्कार अघिल्लो संकरणको बिजेता झापा गाउँपालिकाले प्रायोजन गर्नेछन । प्रतियोगितामा हरेक म्याचको म्यान अफ द म्याच र फाइनलका दिन विधागत तर्फका खेलाडीलाई नगद सहित पुरस्कृत गरिने छ । प्रतियोगिताको उदघाटन खेल कनकाई नगरपालिका र बुद्धशान्ति गाउँपालिकाविच हुने खेलाडी व्यावस्थापन समितिका संयोजक विनोदराना मगरले बताउनुभयो ।
प्रतियोगितामा कनकाई नगरपालिका सहित बुद्धशान्ति गाउँपालिका , झापा गाउँपालिका, बिर्तामोड नगरपालिका, शिवसताक्षी नगरपालिका, गौरीगंञ्ज गाउँपालिका, बाह्रदशी गाउँपालिका, हल्दिबारी गाउँपालिका, कमल गाउँपालिका, दमक नगरपालिका र अर्जुनधारा नगरपालिकाको सहभागिता रहने छ । प्रतियोगिता सम्पन्न गर्न राजेन्द्र उप्रेतीको संयोजकत्वमा १७ सदस्यीय मुल समिति र विभिन्न उपसमितिहरुको समेत निर्माण गरिएको छ । पत्रकार सम्मेलनमा कनकाई खेलकुद प्रतिष्ठानका संस्थापक अध्यक्ष ज्योतीकुमार उप्रेती लगायातले पत्रकारको जिज्ञासाको उत्तर दिनुभएको थियो । रनिङ शिल्ड प्रतियोगिता रहेको तेस्रो संकरण झापा गाउँपालिकाले जितेको हो ।