कनकाई अनलाईन
नोभेम्बर २४ तारिक, पत्रकार विरुद्ध हुने अपराधको दण्डहीनता अन्त्य सम्बन्धी अन्तर्राष्ट्रिय दिवस । संयुक्त राष्ट्र संघको आव्हानमा सन् २०१४ देखि मनाउन थालिएको यो दिवस नेपालमा पहिलो पटक आज मनाइएको हो ।
सन् २००९ मा फिलिपिन्समा नोभेम्बर २४ तारिकका दिन पत्रकारहरुको सामुहिक हत्या भएको घटना पछि संयुक्त राष्ट्र संघले यो दिवस मनाउने घोषणा गरेको नेपाल पत्रकार महासंघका अध्यक्ष गोबिन्द आचार्य बताउँछन् ।
पत्रकार महासंघले यही वर्षबाट मनाउने निर्णय भएको यो दिवस आज पत्रकार महासंघ झापाको आयोजनामा अन्तरसम्वाद गरी सम्पन्न गरिएको छ । पत्रकार महासंघका केन्द्रीय गोविन्द अध्यक्ष आचार्य, उपाध्यक्ष विपुल पोखरेल, कोषाध्यक्ष राजेश मिश्रसहित प्रदेश १ का अध्यक्ष बिक्रम लुईटेल तथा कोषाध्यक्ष अम्बिका भण्डारीको आतिथ्यमा कार्यक्रम गरिएको हो ।
अन्तर सम्वादमा बोल्ने सबैजसो पत्रकारहरुले पत्रकारहरुको हत्या तथा आक्रमणमा संलग्नहरु खुलेआम हिंडिरहँदा सरकार मुकदर्शक भएको आरोप लगाए । आफूहरुले पनि टुलुटुलु हेरेर बस्नु परेको पत्रकार नेताहरुको गुनासो छ ।
विगतमा राजनीतिक द्वन्द्वका कारण आक्रमण, वेपत्ताा पारिन्थ्यो तर अहिले स्थानीय तहबाट पनि खतरा बढ्न थालेको वक्ताले महसुस गरेको सुनाए । कतिवटा स्थानीय तहले पत्रकारसँग भनाभनमात्र होइन, भौतिक आक्रमण नै गरेका तथ्यहरु आउने गरेका छन्, उनीहरुको भनाई छ ।
‘२०५२ साल पछि नेपालमा ३७ जना पत्रकार मारिएका तथा ५ जना वेपत्ता बनाइएको विवरण छ तर कानुनी कठघरामा ५ जनाका हत्याराहरु माथिमात्र मुद्धा पर्नु दुःखदायी अवस्था हो’ महासंघका अध्यक्ष आचार्यले चिन्ता व्यक्त गरे । अझै पनि हरेक वर्ष सयवटा हाराहारी मुद्धा महासंघमा दर्ता हुने गरेकाले पत्रकार विरुद्ध हुने अपराधको दण्डहीनता बढेकैले घटनामा वृद्धि भएको अध्यक्ष आचार्यले सुनाए ।
झापा शाखाका सचिव सन्तोष आचार्यले सञ्चालन गरेको अन्तरसम्वादको अध्यक्षता शाखा अध्यक्ष तारामणि सापकोटाले गरेका थिए ।