Kanakai Online

लोकप्रिय बन्न घोषणा गर्ने कार्यान्वयन नगर्ने


बिहिवार, भदौ १२, २०७६ |

लीलाराज झापाली ।
यहाँका संघ संस्थाले लोकप्रिय कार्यक्रमको घोषणा गर्ने तर त्यसलाई निरन्तरता नदिनेक्रम बढेको छ ।
लायन्स क्लव अफ कनकाई सुरुङ्गाले ५ बर्ष पहिले यहाँस्थित सुकेडागी सामुदायिक वन समुहको ३ बिगाह जमिनलाई घेरावारा गरि लायन्स बन घोषणा गरेको थियो । केहि वर्षसम्म निक्कै तामझामका साथ विरुवा रोप्ने घेरावारा गर्ने लगायातका कार्यक्रम भएकोमा हाल सो वनको अवस्था ज्यादै नाजुक छ । –हे तस्वीर ) हाल वनको घेरावाराको तारजालीमा जंगली लहराले ढाक्दा वनको अवस्था घारीमा परिणत भएको छ । करिव १० लाख रुपैँया पैसा त्यसवेला लायन्सका सदस्यहरुले गोजीबाटै उठाएर घेरावारा गरेको र विरुवा रोप्ने जमिन जोत्ने लगायातका काम गरेको भएपनि समाचारको हेडिङ बनिसकेपछि लायन्सका सदस्यहरु हाल सेलाउदा वनको दुर्दशा भएको एक स्थानीयको भनाई छ ।
लायन्सका एक सदस्यले नाम उल्लेख नगर्ने सर्तमा यसको हेरचाह गर्ने जिम्मा वन समुहकै भएको तर पहिले सम्झौता गर्दाको कार्यसमिति नहुदा वनको हेरचाह नभएको बताए । उनले हाल क्लवले आफ्नो सबै ध्यान भवन निर्माणकामा लगाउदा समेत वनमा ध्यान जान नपाएको बताए । यता सुरुङ्गा सहकार्य युवा क्लवले समेत केहि बर्ष अगाडि सुरुङ्गा चौकमा दुर्गा पुजा लगाएर करिव १२ लाख रुपैँया संकलन गरि सुरुङ्गा क्षेत्रमा सिसि क्यामेरा जडान गरेको थियो हाल ती सिसि क्यामेराको नामनिशान छैन । सिसि क्यामेराको मनिटरिङ्गा लागि इलाका प्रहरी कार्यालय सुरुङ्गालाई जिम्मा दिएपनि एउटापनि सिसि क्यामेरा हाल संचालनमा नआउदा सिसि क्यामेरा कति हराए कति फुटे भन्ने सम्मको जानकारी नत प्रहरीलाई छ नत सहकार्य युवा क्लवका सदस्यहरुलाईनै ।
यता यस क्षेत्रको अर्को युवाको संस्था सुरुङ्गा जेसिजले समेत ग्रिन सिटी क्लीन सिटी भन्दै बडो तामझामका साथ सुरुङ्गा बजारभर धुपीका विरुवा रोप्ने तथा फोहोर फ्याक्ने भाडो वितरण गरेको भएपनि हाल डिलाइट होटल रोड बाहेक सुरुङ्गा बजार क्षेत्रमा एउटापनि सद्धे धुपीका विरुवा र भाडो छैन । यता ज्ञानज्योती युवा क्लवको आयोजनामा समेत सुरुङ्गा क्षेत्रलाई प्लाष्टिक झोला निषेधित क्षेत्र घोषणा गरि वृतचित्रै समेत निर्माण गरिएको थियो ।
ज्ञानज्योती युवा क्लवले समेत दाताको खोजी गरि फोहोर फ्याक्ने भाडो समेत वितरण गरेपनि यी दुबै काम अहिले गुमनाम रहेको छ । सुरुङ्गा क्षेत्रमा हाल प्लाष्टिक झोला नियन्त्रण भएको छ कि छैन भन्ने समेत अनुगमन भएको छैन भने फोहोर फ्याक्ने भाडो समेत एउटा पनि सद्धे छैन । यी त प्रतिनिधि घटना मात्रै हुन यसरी सस्तो लोकप्रियताका लागि कार्यक्रमको घोषणा गरिदिने र समाचारको हेर्डिङ बनिसकेपछि कार्यक्रमको निरन्ततानै विर्सिदिने क्रम वढेसगै लोकप्रिय कार्यक्रमहरु केहि दिन या बर्षमै थन्किने गरेका छन ।
फोटो ः सुकेडागी सामुदायिक वन क्षेत्रको ३ विगाह जमिनमा लायन्स वन जो हाल झाडीमा परिणत भएको छ । तस्वीर ः कनकाई
रानी बनमा रोटरीको वृक्षरोपण
झापा गाउँपालिकाको एक मात्र सामुदायिक वन रानी सामुदायिक वन क्षेत्रमा रोटरी क्लव अफ सुरुङ्गाले विहिवार वृक्षरोपण गरेको छ ।
मानवीय सेवामा समर्पित अन्तर्राष्ट्रिय सामाजिक संस्थाका रुपमा स्थापीत क्लवले वातावरणको शुद्धतालाई समेत ख्याल गर्दै टिक जातका २ सय ५० विरुवा रोपेको हो । झापा गाउँपालिकाको वडा नं।३, ६ र ७ मा पर्ने १ सय ३ हेक्टर क्षेत्रफलमा रहेको सो वन क्षेत्रको खाली रहेको ठाउँमा रोटरी क्लव अफ सुरुङ्गाका पदाधिकारीहरुले सवै विरुवा आँफ्नै हातवाट रोपण गरेको क्लवका संस्थापक अध्यक्ष एल। पी। उप्रेतीले बताएका छन् ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै क्लवका वर्तमान अध्यक्ष कुमारमणि पोखरेलले मानवीय सेवामा समर्पित संस्था रोटरी क्लवले समृद्ध समाज निर्माणकालागि हरेक गतिविधिमा अग्रस्थानमा रहेर सेवा गर्ने बताएका छन् ।
वृक्षरोपण कार्यक्रमकै अवसरमा विर्तासिटी अस्पतालमा स्वास्थ्य उपचार गराइरहेकी आर्थिक अवस्था कमजोर भएकी झापा गाउँपालिका ६ निवासी ताला हेमरमलाई स्वास्थ्य उपचारकालागि सहयोग स्वरुप उपलव्ध गराएको तीन हजार एकसय रुपैंयाँ रानी सामुदायिक वनकी सचिव पुष्पा प्रसाईंलाई रोटरी क्लवले हस्तान्तरण गरेको छ ।
क्लवका अध्यक्ष कुमारमणि पोखरेलको सभापतित्वमा सम्पन्न औपचारीक कार्यक्रममा रानी सामुदायिक वनका अध्यक्ष नरेन्द्रकुमार आङ्देम्बेले वातावरणको क्षेत्रमा गम्भीर बन्दै रोटरी क्लवले सामुदायिक वनप्रति गरेको सहयोगको प्रशंसा गरेका थिए । क्वलका थर्ड भाइस प्रेसिडेन्ट शिवकुमार कडेलले संचालन गरेको औपचारीक कार्यक्रममा वन समूहका पदाधिकारी तथा सदस्यहरुको समेत उपस्थिती रहेको वताइएको छ ।