कनकाई अनलाईन ।
झापाको भद्रपुरमा आयोजित झापाका नगरपालिकाहरुमा कार्यरत कर्मचारीहरुको तेस्रो झापा जिल्ला अन्तर नगरपालिका कर्मचारी फुटबल प्रतियोगितामा कनकाई नगरपालिकाले मेचीनगर पालिकालाई ८ —० गोल अन्तरले हराउदै दोस्रो चरणमा प्रवेश गरेको छ । शनिवार भएको खेलमा कनकाईका सचिन बस्नेत र जिसु मुर्मुले ह्रयाट्रिक पुरा गरे भने २ गोल मनोज चौधरीले गरे मेचीनगरको तर्फबाट कुनैपनि गोल हुन सकेन । यसैगरि आआफ्नो खेलमा भद्रपुरले गौरादहलाई ० का बिरुद्ध ५ गोलले पराजित गर्दै दोस्रो खेलमा बिजयी हुदा अर्जूनधारा दमकको चुनौती ट्राईब्रेकरमा ७ —६ ले पन्छायो । यसैगरि शिवसताक्षीलाई ० का बिरुद्ध ३ गोलले पराजित गर्दै बिर्तामोड समेत सेमिफाइनलमा प्रवेश गरेको छ । जनप्रतिनिधिहरुले स्थानीय तहमा जिम्मेवारी सम्हालेपछि झापामा नगरपालिकाका कर्मचारी फुटबल खेल्न दोस्रोपटक मैदानमा उत्रिएका हुन ।
नेपाल नगरपालिका कर्मचारी एशोसिएसन भद्रपुर नगरपालिका इकाईको आयोजनामा भद्रपुर माविको खेल मैदानमा यही फागुन १८ र २५ गते २ शनिवार फुटबलको आयोजना हुन लागेको हो ।
सेवाग्राहीको काम प्रभावित नहुने गरी शनिबार सार्वजनिक विदाको दिन पारेर प्रतियोगिताको तयारी गरिएको हो । झापामा आठवटा नगरपालिकाको खेलमा सहभागिता छ । १८ गते शनिवार पहिलो चरणका चारवटा खेल १८ गते र सेमीफाइनल तथा फाइनल खेल २५ गते गरिने छ ।
प्रतियोगिताको विजेताले २५ हजार नगदसहित शील्ड तथा मेडल प्राप्त गर्नेछ भने उपविजेताले १५ हजार नगदसहित शील्ड तथा मेडल प्राप्त गर्ने एशोसिएशनका सचिव सुशील कर्णले जानकारी दिए । प्रतियोगितामा प्राविधिक सहयोग भद्रपुरस्थित मुनाल क्लवको रहेको छ ।
पहिलो प्रतियोगिता अघिल्लो वर्ष कनकाई नगरपालिकाको एशोसिएशनले आयोजना गरेको थियो । सो प्रतियोगिताको उपाधि भद्रपुर नगरपालिकाले जितेको थियो । विजेता नगरपालिकाले अर्को प्रतियोगिता आयोजना गर्नुपर्ने भन्ने निर्णय अनुसार यस वर्ष भद्रपुर नगरपालिकाले प्रतियोगिता आयोजना गरेको एशोसिएशनका सदस्य गणेश श्रेष्ठले बताए ।