Kanakai Online

आन्तरिक पर्यटकको ध्यान खिच्दै झापाको धनुषकोटी धाम


मङ्गलवार, माघ १, २०७५ |

सन्तोष शर्मा
झापा, ३० पुस । झापाको कनकाई नगरपालिका–२ स्थित धनुषकोटी धाममा वनभोज खाने घुइँचो लाग्न थालेको छ ।
कनकाई नदीको तट तथा सुकेडाँगी सामुदायिक वन उपभोक्ता समितिको हाताभित्र रहेको धनुषकोटी धाममा खानेपानी, बिजुली, बगैँचा, बालबालिकालाई खेल सामग्री लगायतका भौतिक पूर्वाधारको विकास भएसँगै वनभोजका लागि आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको हो ।
पहिलेदेखि नै स्थानीयबासीले छिटफुट रुपमा वनभोज खाने गरे पनि २०६८ सालयता धनुषकोटी धाममा पर्यापर्यटनको विकाससँगै वनभोजस्थल निर्माण गर्ने उद्देश्यले भौतिक पूर्वाधार निर्माण थालिएको वन समूहका अध्यक्ष भक्तबहादुर पौडेलले जानकारी दिनुभयो ।
कात्तिकयता वनभोजका लागि दैनिकजसो सयौँको संख्यामा झापासहित मोरङ, सुनसरी, इलाम लगायतका जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन् । विशेष गरेर शनिबार, शुक्रबार, सोमबार र बिदाको दिन वनभोजका लागि धेरै मानिस आउने गरेका छन् । अन्य दिनको तुलनामा शनिबार ६० वटाभन्दा बढी टोली वनभोजका लागि आउने गरेको अध्यक्ष पौडेलले बताउनुभयो ।
वनभोज स्थलमा बगैँचा निर्माणका लागि हालसम्म रू ८ लाख खर्च भइसकेको छ भने चालु आर्थिक वर्षमा कनकाई वडा नं। २ कार्यालयले रू ४ लाख बजेटसमेत विनियोजन गरेको छ । वनभोज खान आउनेहरुको सुविधा लागि ७ स्थानमा खानेपानीको धारा जडान गरिएको छ भने ठाउँ–ठाउँमा बिजुलीको व्यवस्था गरिएको छ ।
वनभोज खान आउने संख्याका आधारमा एउटा समूह बराबर रू ५ सयदेखि रू २ हजारसम्म लिने गरिएको छ । वनभोज खान आउनेहरुबाट गत वर्ष रू ३ लाख ६४ हजार संकलन गरिएको थियो भने यस वर्ष रू ५ लाख संकलन गर्ने लक्ष्य रहेको अध्यक्ष पौडेलले बताउनुभयो । हालसम्म रू ३ लाख ८ हजार संकलन समेत भइसकेको छ ।
४२ हेक्टर क्षेत्रफलमा फैलिएको सुकेडाँगी सामुदायिक वनको २० हेक्टरमा वनभोज स्थल निर्माण गर्ने लक्ष्य रहेको छ । हाल ७ हेक्टरमा मात्र वनभोजका लागि प्रयोग हुने गरेको छ ।
धनुषकोटी धामको विकासका लागि गुरुयोजना निर्माण ९डिपिआर० गर्न प्रदेश नं। १ सरकारले चालु आर्थिक वर्षमा रू १० लाख बजेट विनियोजन गरेको छ । डिपिआरपछि धाम परिसरमा भौतिक संरचना निर्माण लगायतका कार्यले तीव्रता पाउने अध्यक्ष पौडेलले विश्वास व्यक्त गर्नुभयो ।
धनुषकोटी धाममा अर्को आकर्षणको रुपमा रहेको छ, झोलुङ्गे पुल । सांसद् राजेन्द्र लिङ्देनको पहल र सरकारको लगानीमा निर्माण भएको १ सय ४८ दशमलव ८० मिटर लामो झोलुङ्गे पुलले यहाँ आउने जोकोही पर्यटकलाई लोभ्याउने गरेको छ । पुलबाट हरियो वन, नदी, चुरे क्षेत्रको अवलोन गर्न सकिने भएकाले पनि पर्यटक मोहित हुने गरेका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सुरुङ्गाको ट्राफिक चोकदेखि करिब ४ किलोमिटर उत्तरमा रहेको छ, धनुषकोटी धाम । यातायात र बाटोको पहुँचका कारण टेम्पु, सिटी सफारी वा अन्य कुनै माध्यमबाट सहजै पुग्न सकिन्छ ।