Kanakai Online

कनकाईमा सुकुम्बासीका लागि घर निर्माण


शुक्रवार, असार २९, २०७५ |

लीलाराज झापाली
सुरुङ्गा , असार २९ गते । कनकाई नगरपालिका तथा अन्य विभिन्न संघ संस्थाको आयोजनामा घरवारविहीन परिवारका लागि मेयर आवाश कार्यक्रम सुरु भएको छ ।
कनकाई नगरपालिकाबाट २५ लाख , सहारा नेपाल सहकारी संस्थाको १४ लाख र कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको २ लाख रुपैँया गरि ४१ लाखको लागतमा कनकाई नगरपालिका ७ रेडक्रस टोलमा १५ परिवारका लागि घर निर्माण सुरु गरिएको छ ।
उक्त आवाश कार्यक्रमको नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले धार्मिक विधिका साथ आजशुक्रवार शिल्यान्यास गर्नुभयो । नगरपालिका भित्र २०५० सालभन्दा पहिलेदेखि बसोवास गर्दै आएका तथा देशभर आफ्नो जमिन र घर नभएका परिवारलाई जमिन तथा घरनिर्माण गरि राखिने सो अवशरमा नगरप्रमुख पोखरेलले जानकारी दिनुभयो । यस्ता परिवारको पहिचानका लागि नगरका ९ बटै वार्डमा प्रतिनिधि खटाइएको समेत पोखरेलले बताउनुभयो । यस मेयर आवास कार्यक्रममा लागि यस आर्थिक वर्ष २०७५÷७६ मा समेत नगरपालिकाको तर्फबाट २५ लाख रुपैँया थप बजेट विनियोजित गरिसकिएको कनकाई नगरपालिकाका प्रशासकिय अधिकृत देबेन्द्र कार्कीले बताउनुभयो । यस वर्षदेखि यस कार्यक्रममका लागि साझेदारीका लागि अन्य संघ संस्थाहरु समेत सामेल हुने र नगरपालिका भित्र सुकुम्बासी र घरवारविहिनहरुको सङ्ख्या रहुन्जेलसम्म कार्यक्रमले निरन्तरता पाइरहने समेत नगरप्रमुख पोखरेलले बताउनुभयो । यस वर्ष कनकाई ७ मा ३ कठ्ठा जमिनमा १५ परिवारका लागि पक्की घर निर्माण गरिने समेत पोखरेलले बताउनुभयो । गत स्थानीय तहको निर्वाचनका बेला गरिएको वाचा पुरा गर्नेक्रममा मेयर आवास कार्यक्रम गरिएको वार्डअध्यक्ष लीला कन्दङ्बाले बताउनुभयो ।
मेयर आवाश निर्माण समितिका अध्यक्ष प्रेमप्रसाद उप्रेतीको सभापतित्वमा सम्पन्न कार्यक्रममा , जिल्ला समन्वय समितिका सदस्य मराङ हस्दा , नेपाल कम्युनिष्ट पार्टीका नगर संयोजक चन्द्रमान कन्दङवा , राप्रपाका नारायणप्रसाद पोखरेल , लगायातले गरिबहरुकालागि कार्यक्रमले निरन्तता पाउनुपर्नेमा जोड दिनुभयो ।