लीलाराज झापाली
सुरुङ्गा , असार २८ गते । सामान्यतय छोरीको बिहे जन्मदिने आमा बुबाले गरिदिन्छन तर झापा कनकाई नगरपाकिला ५ का एक परिवारले भने आफ्नै बुहारीलाई झ्याई झ्याई बाजा बजाएर विहे गरेर विदा गरिदिएका छन ।
कनकाई नगरपालिका ५ तुलसीवारीका ५७ वर्षिय धनपति पौडेल र उहाँकी श्रीमती टिकामाया आफ्नै बुहारीको बिहे गरिदिएर सबैको वाह्वाही पाउनुभएको छ ।
बुधवार झापाका कनकाई नगरपालिका कोटीहवनस्थित मिश्र बन्धुको सामुदायिक भवनमा भएको एउटा बिहेले सबैको ध्यान खिच्यो ।
कनकाई नगरपालिका ५ का ४५ बर्षिय लेखनाथ मिश्र र सोहि वार्डकी ३० वर्षिय अन्जना पौड्यालविच बैदिक विधिअनुसार विहे सम्पन्न भएको छ । अन्जनाको विहे आफ्ना जन्मदिने बाबुआमाले नगरिदिएर आफ्नै सासु ससुराले गरिदिएका हुन । अन्जनाको ६ वर्ष पहिले पौड्याल परिवारमा कान्छी बुहारीका रुपमा विहे भएर भित्रिएकी थिइन । विहे भएको वर्षदिनमै छोराले डिप्रेशनका कारण आत्महत्या गरेपछि अन्जना एकल महिलाका रुपमा माइत नगइ घरमै सासु ससुराकोमा रहदै आएकी थिइन । यसैविचमा आफ्नी श्रीमतीको मृत्यु भएपछि एक्लै जिवन विताइरहेका लेखनाथ मिश्रका परिवार पौडेलकोमा विहेको प्रस्ताव लिएर गयो । अन्जना र लेखनाथ दुबै एकअर्काको जिवनको सहारा बन्न राजी भएपछि विहेको मिति तय गरिएको थियो । दुबैको धार्मिक विधि पुर्याएर धुमधाम विहे भयो । पहिले काफ्लेकी छोरी रहेकी अन्जनाका जन्मदिने बुबाआमा एकपटक कन्यादान गरेकी छोरीलाई पुन कन्यादान गर्न हुदैन भनेर बिहेमा आउनुभएन तर छोरीको सबै विहे कर्म पौडेल परिवारले गरिदिएको हो ।
बुहारी अन्माउदा सबैभन्दा वढी विलौना गर्दै यहि पौडेल दम्मत्ती रोएको थियो । घरगाउलेका रुपमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल , वार्डअध्यक्ष कृष्ण राई पत्रकार लगायातका बुद्धिजिवी , समाजसेवीको बाक्लो उपस्थिति रहेको थियो । विहे कार्यक्रममा आफुले यस किसिमको विहे पहिलोचोटी देखेको भन्दै यस विहेले समाजमा रहेको अन्धविश्वास र कुरीतिलाई तोड्ने कामको सुरुवात भएको नगरपालिकाका प्रमुख पोखरेलले बताउनुभयो । आफ्नो छोराका मृत्युपछि बुहारीलाई छोरीकै दर्जा दिएर राखेकोले आफुले छोरीलाई कन्यादान गरिदिएको ससुरा धनपतिले बताउनुभयो ।
फोटो ः बिहेमा सहभागि हुदै कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेल