कनकाई अनलाईन
भद्रपुर २७ असार । स्थानीय पञ्जीकाधिकारीले व्यक्तिगत घटना दर्ता गर्दा व्यक्तिगत लाभ र राजनीतिक प्रभावका आधारमा गर्ने परम्पराले महिला हिंसा बड्ने तथा सम्पत्ति गुमाउनु पर्ने बाध्यता हुने गरेको पाइएको छ ।
श्रीमान श्रीमती बीच मनमुटाव भै सम्बन्ध विग्रन जाँदा उत्पन्न तनावबाट फाइदा लिन चाहने विचौलियाले पीडितको सम्पत्ति हडप्न स्थानीय पञ्जीकाधिकारीलाई आर्थिक प्रभावमा पारी राजनीतिक दाउपेच प्रयोग गरी श्रीमतिको नाममा रहेको सम्पत्ति खोस्न बहु विवाह, अनमेल विवाह समेत गराउँदा हिंसा बढ्ने तथा सम्पत्ति खोसिने अवस्था आउने गरेको हो । पछिल्लो पटक यस्तो खेलको शिकार बनेकी कन्काइ नगरपालिका ३ की ५३ वर्षीया दुर्गादेवी भट्टराई थापा आफ्ना छोरीहरूले वैदेशिक रोजगारबाट कमाएको पैसाले निर्मित घर गुम्ने चिन्ताले पीडित छिन् । दमक १५ का दुर्गाप्रसाद थापासित २०४० सालमा विवाह गरेकी अनारमनी १ की भट्टराईको पारिवारिक जीवन सामान्य थियो । भारतीय सेनाका जागिरे श्रीमान जव जागिर छोडेर घर बस्न थाले उनले रक्सीको अम्मलका कारण श्रीमती तथा छोरीहरूलाई मानसिक तथा शारीरिक यातना दिने क्रम बढेपछि २०७० सालबाट श्रीमान छोडी दुई छोरीको लालनपालन गर्दै साविकको सुरूङ्गा गाविसमा बस्न थालिन् ।
श्रीमानबाट अंश स्वरूप लिएको १७ धुर जग्गामा छोरी द्वयले वैदेशिक रोजगारबाट कमाएको रकमले दुई तले घर बनाएर बस्न थालेको केही समयपछि सो घर जग्गामा कहिलै नाम नसुनेकी तथा स्थानीयले समेत देख्दै नदेखेकी रिता दाहाल थापाले अंश दाबी गरेर मुद्धा हालेको पत्र हात परेपछि स्थानीय पञ्जीकाधिकारीको कार्यालयमा बुझ्दा २०६९ सालमा सामाजिक परम्परा अनुसार विवाहगरी श्रीमान् दुर्गाप्रसादकी श्रमितीका रूपमा २०७३ साउन ९ विवाह दर्ता भएको कागजात बनाएको पाएपछि दुर्गादेवी छाँगाबाट झरेझैं बन्न पुगिन् । सो कागजातमा स्थानीय पञ्जीकाधिकारीले दुर्गादेवीको सहमतीमा विवाह दर्ता बनाएको झुटो विवरण समेत राखेको पाएपछि पीडित बनेकी उनले नगर प्रशासन समक्ष झुटो विवरणको खारेजीका लागि निवेदन दिइन तर सुनुवाइ नभएपछि छोरीहरूको कमाइको सम्पत्ति गुम्ने चिन्ता बोक्न बाध्य बनेकी हुन् । श्रीमान् ५३ वर्ष तथा श्रीमती २३ वर्षको उल्लेख गरी नगर पञ्जीकाधिकारीले दर्ता गरेको विवाह दर्ता बहु विवाह तथा अनमेल विवाह भए पनि कानुनी मान्यता पाउनु वर्तमान संविधान विपरित भएको पीडितको मागदावी नगर न्यायिक समितिले अस्विकार गरेको गुनासो छ ।
यता सो घटनाका स्थानीय पञ्जीकाधिकारी राजेन्द्रप्रसाद उप्रेती भने सूचकले अभिभावक सहित व्यक्तिगत घटना दर्ता गर्न आए बहु विवाह, अनमेल विवाह तथा बाल विवाह दर्ता गर्न सक्ने कानुनी अधिकार रहेको बताउँछन् । वर्तमान कानुनले के भन्छ, भन्दा पनि परम्परागत कानुनले जे भन्छ त्यही अनुसार व्यक्तिगत घटना दर्ता भइरहेको उप्रेतीले प्रष्ट पारे । तर महिला अधिकारका लागि काम गरिरहेकी मानव अधिकारका लागि महिला एकल महिला झापाकी अध्यक्ष रेखा अधिकारी भने बाल विवाह, अनमेल विवाह तथा बहु विवाह वर्तमान संविधान एवम कानुन विपरित भएकाले स्थानीय पञ्जीकाधिकारीले कानुन मिचेर काम गर्न नहुने तर्क गर्छिन् ।
प्रतिदिन दैनिकबाट
पिडित कनकाई नगरपालिकाकी दुर्गादेवि थापा