कनकाई अनलाईन
सुरुङ्गा, जेठ २४ । कनकाई माध्यमिक विद्यालय सुरुङ्गामा विद्यालय सुधार योजना निर्माणका लागि कार्यशाला सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनार्दन उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ झापाका प्रमुख उपसचिव योगेन्द्रप्रसाद बरालले प्रमुख सहजकर्ताको भूमिका निभाएका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बरालले हरेक विद्यालयले सेवा क्षेत्र तोक्ने र आफ्नो सेवा क्षेत्रका विद्यालय उमेरका सबै नानीहरुलाई विद्यालयमा ल्याउन र शिक्षा दिन योजना बनाउनुपर्ने सुझाए ।
उनले कुनै विद्यार्थी आँगनको विद्यालय छोडेर अर्को विद्यालय जान्छ भने आफ्नो कुनै न कुनै कमजोरी छ भनेर विद्यालय परिवारले सोच्नुपर्ने बताए । विद्यालय प्रशासन, अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र विद्यार्थी कुनै एक पक्षको मात्रै पनि कमजोरी रहेमा गुणस्तरीय शिक्षा प्रदान गर्न र प्राप्त गर्न नसकिने उनको भनाइ थियो ।
कार्यशालामा विद्यालय सुधार योजना निर्माण कार्यविधिले तोके बमोजिम ९ वटा मापदण्डमा आधारित रही विद्यालयको स्व–मूल्यांकनको विश्लेषण गर्दै समूहगत छलफलपछि सुझावहरु प्रस्तुत गरिएका थिए । १ सय जनाको सहभागिता रहेको सो कार्यशालामा क्रमशः रामनाथ ढकाल, मन्दिरा डाँगी, शारदा पाठक, तुलसीराम खरेल र चन्द्रविनोद कोइरालाको नेतृत्वमा निर्माण गरिएका ५ वटा समूहहरुमा छलफल चलाइएको थियो । कार्यशालामा सहायक प्रअद्वय कर्णबहादुर डाँगी र गोपीकृष्ण भट्टराई तथा आधारभूत तह इञ्चार्ज खेमराज भट्टराईले छलफल प्रक्रियामा सहजीकरण गरेका थिए भने सहायक प्रअ हरिप्रसाद तिम्सिना र नेपाली माध्यम व्यवस्थापन संयोजक चन्द्रमणि हुमागाईले सामूहिक छलफलमा समन्वय गरेका थिए ।
शिक्षक प्रतिनिधि बल्लभकुमार गौतमको स्वागत मन्तव्य रहेको कार्यक्रममा विद्यालय सुधार योजना निर्माण समितिका संयोजक एवम् प्रअ निर्मलकुमार खतिवडाले औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा नगर शिक्षा अधिकृत हरिप्रसाद मिश्र, स्रोत व्यक्ति मेदनीप्रसाद पाठक, शिक्षक शारदा पाठक, शिक्षक अभिभावक संघका अध्यक्ष रमेश संग्रौला लगायतले शुभकामना मन्तव्य राख्दै सुझाव समेत प्रस्तुत गरेका थिए । आधारभूत तह इञ्चार्ज खड्ग आचार्य र झरेन्द्र तिम्सिनाले टिपोटकर्ताको भूमिका निभाएका थिए भने कार्यक्रममा चेतन रिजाल, भूवन खरेल, विजय श्रेष्ठ र जनकराज ढकालको प्राविधिक सहयोग रहेको थियो । टिपोट टंकण र प्रविष्टीकरण सावित्रा पाण्डेले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन शिक्षक तीर्थराज खरेलले गरेका थिए ।