कनकाई अनलाईन
भद्रपुर । स्थानीय तहहरुमा आ. व. ०७५÷०७६ को बजेट तयारी भइरहेका बेला जिल्ला समन्वय समितिले जनप्रतिनिधिहरुलाई योजना तथा बजेटिङ सम्बन्धमा प्रशिक्षण प्रदान गरेको छ ।
जिससले सबै स्थानीय तहमा पुगेर दुई दिनसम्म प्रशिक्षण दिनेक्रममा बिहीबारसम्ममा आठवटा स्थानीय तहमा प्रशिक्षण सम्पन्न गरिसकिएको सहजकर्ता जिल्ला समन्वय समितिका कार्यक्रम वरिष्ठ अधिकृत जय तिम्सिनाले बताए । सहजकर्ताहरुको तीनवटा समूह बनाएर तालिम दिइएको उनले बताए ।
बिहीबारसम्ममा भद्रपुर, कनकाई, विर्तामोड, शिवसताक्षी र गौरादह नगरपालिका तथा झापा, र कमल गाउँपालिकामा तालिम सम्पन्न गरिएको छ भने बुद्धशान्ति र बाह्रदशीमा बिहीबार शुरु गरिएको जिससका कर्मचारी नेत्र पोखरेलले जानकारी दिए । जेठ १७ गते गौरादहबाट शुरु गरिएको तालिम २९ गते दमकका सकिने उनले जानकारी दिए ।
भद्रपुरमा तालिम समापनको अध्यक्षता गरेका भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठले तालिममा प्राप्त जानकारी नगरको योजना तथा बजेट निर्माणमा उपयोग गर्न आग्रह गरे । यसैगरी नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठ, सहभागीका तर्फबाट वडा नं ७ का अध्यक्ष विनोद पोखरेल र नगर कार्यपालिका सदस्य मित्रा भट्टराईले केही समयअघि यसप्रकारको तालिम लिन पाएको भए अझ प्रभावकारी हुनसक्ने बताए ।
तालिममा जय तिम्सिना, गोविन्द अधिकारी, विजय तिम्सिना, पंकज भूर्तेल, सूर्य गौतम, रविन्द्र आचार्यले प्रशिक्षण दिइरहेका छन् भने जिसस प्रमुख सोमनाथ पोर्तेलले पनि सहजीकरण गरिरहेका छन् ।
तालिममा योजना तर्जुमाका ७ चरण, राजश्व, योजना छनोट प्राथमिकीकरण, नगरसभामा पेश हुने आर्थिक विधेयक, विनियोजन विधेयक, आयोजना तथा कार्यक्रमहरु सूची तयारी, वस्तीस्तरको याजना तर्जुमाजस्ता विषयमा प्रशिक्षित गरिएको जय तिम्सिनाले जानकारी दिए ।