कनकाई अनलाईन
विर्तामोड ः गीता एभियसनले झापाको विर्तामोडमा एयरलाइन्स सम्वन्धी तालिम सञ्चालन गरेको छ । हवाई उड्ययनको क्षेत्रमा काम गर्न इच्छुक विद्यार्थीलाई लक्षित गर्दै एभिएसनले विर्तामोडमा सेमिनार आयोजना गरेको हो ।
सन् २०११ मा स्थापना भएको गीता एभियसनले हवाई उड्ययनका क्षेत्रमा काम गर्न चाहनेलाई विभिन्न कोर्षमा तालिम गराउँदै आएको छ । यसै सिलसिलामा पाइलट अध्ययन गर्न चाहने विद्यार्थीलाई लक्षित गर्दै विर्तामोडमा कार्यक्रम गरिएको गीता एभियसनका प्रमुख जनकराज अधिकारीले बताए ।
‘धेरै विद्यार्थीलाई इएयरलाइन्सका विषयमा जानकारी छैन’, सौर्य एयरलाइन्सका पाइलट समेत रहेका अधिकारीले भने, ‘उनीहरु जान्न चाहन्छन् । तर अवसर पाइरहेका छैनन् । उनीहरुका लागि गीता एभियस एउटा माध्यम हुन सक्छ ।’ गीता एभियसनले पाइलट, एयर होस्टेज लगायत हवाई उड्ययनका क्षेत्रमा चाहिने जनशक्ति उत्पादनका लागि तालिम दिँदै आएको उनले बताए ।
हवाई उड्ययनको क्षेत्रमा कसरी प्रवेश गर्ने भन्ने विषयमा जिज्ञासा रहे पनि विद्यार्थीले सिक्ने र बुझ्ने मौका नपाइरहेका बेला गीता एभियसनले तालिम सञ्चालन गरेर राम्रो कामको सुरुवात गरेको गोमेन्द्र कलेजका प्राचार्य रुपक खनाल बताउँछन् । ‘तालिममा विद्यार्थीले कहाँ गएर कसरी पढ्ने मात्र होइन, हवाई क्षेत्रका प्राविधिक विषयमा पनि जानकारी पाएका छन्’ खनालले भने, ‘अरु विद्यार्थीलाई यो विषयमा प्रशिक्षित गर्न थप उत्साहित भएका छौँ ।’
नेपालमा पाइलट र एयर होस्टेजको माग बर्सेनि बढ्दै जाँदा आवश्यकता अनुसारको जनशक्ति व्यवस्थापन हुन सकिरहेको छैन । यसबाहेक हवाई उड्ययनका लागि चाहिने प्राविधिकको खाँचो उत्तिकै छ । यसलाई मध्यनजर गरेर गीता एभियसनले झापाको विर्तामोड र विराटनगरमा बैशाखभित्रै आफ्नो कार्यालय स्थापनाको तयारी पनि गरेको छ ।