कनकाई अनलाईन
झापाको शिवसताक्षीमा सम्पन्न झापा जिल्ला स्थानीय तह स्तरीय नकआउट पुरुष भलिबल प्रतियोगिताको उपाधि झापा गाँउपालिकाले चुमेको छ ।
शिवसताक्षी–११ दूधेस्थित खेल मैदानमा सम्पन्न फाइनल खेल वेष्ट अफ फाइभको आधारमा भएको थियो जसमा झापा गाँउपालिकाले बिर्तामोड नगरपालिकालाई २४–२६, २५–१९, १९–२५, २५–२१ र १५–११ अंक ल्याउँदै ३–२ को अत्यन्तै संघर्षपूर्ण जीत निकालेको हो । जीतसंगै झापा गाउपालिकाले नगद ५१ हजार पाएको छ भने उपविजयी बनेको विर्तामोडले ३१ हजार रुपैया पाएको छ ।
त्यस्तै प्रतियोगिताको उत्कृष्ट ६ विधा अन्तर्गत वेस्ट स्पाइकरमा शिवसताक्षी नपाका विवेक फुँयल, बेस्ट ब्लकर तथा लिब्रो बिर्तामोड नपाका बबिन चौहान र दिनेश लामा, बेस्ट लिफ्टर कलम गापाका रोनिश राई, बेस्ट क्वीकर गौरादह नपाका दिपेन मल्लिक तथा बेस्ट सर्भिस तथा टुर्नामेन्ट अफ द सिरिज झापा गापाका आशिष कार्की घोषित हुनुभयो ।
यसैबीच भलिबल खेल मार्फत शिवसताक्षीलाई पहिचान गरेको भन्दै शिवसताक्षीका पूर्वाञ्चल खेलाडी जनकलाल पौडेललाई दोसल्ला, सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । उनलाई कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षी नपाका मेयर चन्द्रकुमार शेर्मा, उपमेयर भोजकुमारी नेपाल, सुरुङ्गा नपाका मेयर राजेन्द्र पोखरेल लगायतले सम्मान गरेको थिए ।
गत चैत्र २ गतेबाट शुरु भएको उक्त भलिबल प्रतियोगितामा झापा जिल्लाका १४ वटा स्थानीय निकायका टीमहरु सहभागी भएका थिए ।