विर्तामोड – पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरका चालकले भारतको सिलिगुडीमा ट्यांकरमा लागेका ताल्चा पेट्रोल पम्पसम्मै पुग्नुपर्ने माग राखेका कारण पेट्रोलियम पदार्थ ढुवानी अझै हुन सकेको छैन ।
इन्धन ढुवानी नहुँदा सडकमा सवारी साधन कम गुडेका छन् । इन्धन बोकेका ट्यांकर नेपाल आयल निगमको चारआली शाखा कार्यालय परिसरमा छन् । तर ताल्चा विवाद फेरि बल्झिएपछि इन्धन ढुवानी हुन सकेको छैन । सिलिगुडीबाट ताल्चा लागेर आएका ट्यांकर आयल निगम परिसरमा छन् ।
ट्यांकर चालक संघका अध्यक्ष तोपप्रसाद दुलालले आफूहरुले चोरको संज्ञा पाएकाले निगमबाट पम्पसम्म पुग्दा पनि सोही ताल्चा लाग्नुपर्ने बताए । उनले भने ‘ुहामी तेल चोर भनियो । निगमबाट पम्पसम्म पुग्दा पनि हामीले तेल चोर्ने संभावना भएकाले सोही ताल्चा लागोस् । होइन भने पम्पसम्म पुग्दा पम्पका प्रतिनिधि पनि ट्यांकरमा हुनुपर्छ ।’
मेची पेट्रोलियम डिलर्स एसोसिएसनका वरिष्ठ उपाध्यक्ष नवीन कोइरालाले ताल्चा विवाद भएकाले निगम कार्यालयबाट इन्धन ढुवानी नभएको बताए । उनले सोमबार बिहान विवाद टुंग्याएर ढुवानी सहज बनाउने बताए ।
आयल निगमको चारआली कार्यालयमा लामबद्ध ताल्चा लागेका इन्धन बोकेका ट्यांकर । तस्बिर उमाकान्त खनाल देश सञ्चार