कनकाई अनलाईन
बिर्तामोड स् नेपाल कम्युनिष्ट पार्टी एमालेले फागुन २१ गतेको शहीद दिवस चार सपुतहरुले बलिदान दिएको भूमि सुखानीमा मनाउने निर्णय गरेको छ ।
पार्टी जिल्ला सचिवालयको निर्णयअनुसार एमाले मोर्चा संगठन प्रमुख तथा जिल्ला कार्यालय सचिव शिव ढुङ्गेलले बुधबार विज्ञप्ति जारी गर्दै सोबारे जानकारी दिएका हुन् । जिल्ला सचिवालयले शहीद दिवसका प्रमुख अतिथिको रुपमा एक नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राईलाई आमन्त्रण गरेको छ ।
एमाले जिल्ला सचिवालयको बैठकले सो सभामा सहभागिताका लागि स्थानीय तहका पार्टी कमिटीका सदस्य र सोभन्दा माथिल्लो जिम्मेवारीमा रहने सम्पूर्णलाई निर्देशन गरेको पनि जनाइएको छ ।
यसैगरी, गाँउपालिका तथा नगरपालिकाका प्रमुख, उपप्रमुख र वडाध्यक्षहरु, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र सदस्यहरु, प्रदेश तथा प्रतिनिधि सभाका सांसदहरु अनिवार्य सहभागी हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
पार्टी केन्द्रीय कमिटीद्वारा देशैभर हाललाई अधिवेशन आयोजना नगर्न निर्देशन भएको हुँदा अर्को निर्देशन नभएसम्मका लागि जिल्ला कमिटी झापाको समयावधि थप गरिदिनका निम्ति पार्टी केन्द्रीय कमिटी समक्ष माग गर्ने निर्णय गरेको छ ।
एमाले सचिवालयले २०७३ को पार्टी सदस्यता नविकरण फागुन मसान्तभित्र जिल्ला पार्टी कार्यालयमा बुझाई सक्न निर्देशन पनि गरेको छ । साथै सो समय भित्र नविकरण हुन नआए २०७३ को नविकरणमा समावेश गराउन नसकिने समेत निर्णय गरेको छ ।सोही दिन पत्रकार तिर्थ सिग्देलद्धारा लिखित पुर्वको राजनितिको समेत लोकापर्ण गरिने जनाइएको छ ।