Kanakai Online

प्यारागन एकाडेमीद्धारा , दुई ब्रिटिश शिक्षकको बिदाई


बिहिवार, फागुन ३, २०७४ |

कनकाई अनलाईन
सुरुङ्गा, ३ फागुन । बेलायतको स्कटल्याण्ड ग्लास्गोको सेन्ट बिनेडिक्सन विद्यालयमा कार्यरत दुई ब्रिटिश शिक्षकलाई प्यारागन एकाडेमीमा हार्दिक बिदाई गरिएको छ ।
सेन्ट बिनेडिक्सन र प्यारागन एकाडेमी वीच साझेदारी कार्यक्रम अन्तर्गत प्यारागनको ५ दिने भ्रमणमा आएका दुई शिक्षकलाई एक औपचारिक कार्यक्रम गरी बिदाई गरिएको हो । भ्रमणमा आएका शिक्षकहरु आउड्रि म्याकी र जाइमी कनिङघामले सुरुङ्गा बसाइमा प्यारागनका शिक्षक तथा विद्यार्थीसँग आफ्ना अनुभवहरु साँटेका र नवप्रवर्तित सीपहरु सिकाएका थिए ।
बेलायती शिक्षकद्वयले शिक्षकहरुसँग ‘रिस्पोन्सबल् कन्जम्पस एण्ड प्रोडक्सन’ परियोजना अन्तर्गत छलफल र सहकार्य गरेका थिए । उक्त परियोजनामा प्यारागनका कक्षा ५ का दुई सेक्सनका ५१ जना र ग्लास्गोको सेन्ट बिनेडिक्सन विद्यालयका ९ वर्षदेखि ११ वर्षसम्मका १ सय ५० जना विद्यार्थीको सहभागिता रहेको उक्त परियोजनाका प्यारागनका को–अर्डिनेटर अर्जुन उप्रेतीले जानकारी दिए । ब्रिटिश काउस्न्सिल युकेको आर्थिक सहयोग रहेको सो परियोजना आगामी जुलाईमा सकिँदैछ ।
प्यारागन एकाडेमीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चम्पा सुबेदीको अध्यक्षतामा भएको बिदाई कार्यक्रममा शिक्षकद्वय आउड्रि म्याकी र जाइमी कनिङघामले नेपाली विद्यालयहरुमा कक्षाकोठामा बढी विद्यार्थी राख्ने गरेको र बढी सानो उमेरमा बढी कुरा सिकाउने सोच रहेको आफूहरुलाई राम्रो नलागेको बताए । उनीहरुले नेपाली बालबच्चाहरु उत्सुक, रमाइला रहेका र शिक्षकहरु पनि मेहेनती रहेको बताए । कार्यक्रममा विद्यालयका प्रिन्सिपल डी.आर. सुबेदीले ब्रिटिश काउन्सिलको सहयोगमा विगत वर्षदेखि नै हुँदै आएको बेलायती विद्यालयहरुसँगको सहकार्य र साझेदारी कायम राख्दै प्यारागन एकाडेमीलाई आधुनिक शिक्षाको केन्द्र बनाउने बताए । ५ दिनको सुरुङ्गा बसाइका क्रममा बेलायती शिक्षकद्वयलाई इलाम र झापाका दर्शनीय स्थलको भ्रमण गराइएको प्रिन्सिपल सुबेदीले जानकारी दिए ।
 

सम्बन्धित खबर