कनकाई अनलाईन
सुरुङ्गा , फागुन ३ गते । कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा चम्फापुर माविको खेलमैदानमा भएको दोस्रो बार्डस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि कनकाई नगरपालिकाको ७ नम्बर वार्डले जितेको छ ।
आज भएको फाइनल खेलमा ७ नम्बरले बार्डनम्बर ९ लाई ३४ रनले पराजित गर्दै उक्त उपाधि रक्षा गरेको हो । उपाधिसगै ७ नम्बरले नगद १६ हजार १ सय ११ रुपैँया , शिल्ड र प्रमाणपत्र हात पार्यो ।
उपविजयी भएको ९ नम्बर वार्डले भने ११ हजार १ सय ११ रुपैँयामा चित्त बुझायो । कनकाई खेलकुद प्रतिष्ठानको आयोजनामा कनकाई नगरभित्र छरिएर रहेका खेलाडीहरुलाई छनौट गर्न यहि माघ २६ गतेदेखि वार्डस्तरीय क्रिकेट प्रतियोगिताको आयोजना गरिएको आयोजक समितिका सदस्य तुलसी बिमलीले बताउँनुभयो । आज भएको फाइनल खेलमा पहिले टच जितेर ब्याटिङ्ग गरेको वार्डनम्बर ७ ले निर्धारित २० ओभरको खेलमा सवै ओभर खेल्दै १० विकेटको क्षतिमा ११७ रनको मध्यम स्कोर बनाएको थियो ।
७ नम्बरको तर्फबाट विनोद चौम्लागाईले २६ , विक्रम कन्द्ङबाले २४ रन , किस्मत पौडेलले ११ रन र राजीव कार्कीले १२ रनको योगदान दिए । ९ नम्बरका तर्फबाट रन्जीत श्रेष्ठ , ललन ठाकुर , दिपक भट्टराई र गणेश श्रेष्ठले समान २÷२ विकेट लिएका थिए । ११८ रनको विजयी लक्ष्य पछ्याएको ९ नम्बर वार्डले १६ ओभर खेल्दै ८४ रनमै अलआउट हुनपुग्यो । आजको फाइनल खेलमा बेस्ट ब्याटमेन वार्डनम्बर ७ का प्रतिक तिम्सिना , म्यान अफ द म्याच ७ कै विमल चौम्लागाई , इमिजिङ प्लेयर ४ नम्बरका प्रविनकुमार प्रसाई र म्यान अफ द सिरिज वार्डनम्बर ९ का टिम क्याप्टेन रविन चौधरी हुनुभयो । विजयी तथा उपविजयी सबैलाई कनकाई नगरपालिका वार्डनम्बर ४ का वार्डअध्यक्ष गोविन्द पौडेल , २ नम्बरका वार्डअध्यक्ष परशुराम गिरी , ३ का रुद्रप्रसाद चिमरिया , ६ का लक्ष्मीप्रसाद ओली , ७ का लीलाबहादुर कन्दङबा , ९ का प्रेम राजवंशी , ८ का अध्यक्ष प्रेम कटुवाल , कनकाई खेलकुद प्रतिष्ठानका संस्थापक अध्यक्ष ज्योतीकुमार उप्रेती , लगायातले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । कार्यक्रम कनकाई खेलकुद प्रतिष्ठानका अध्यक्ष अध्यक्ष दुर्गा प्रसाईको सभापतित्व सचिव दिनानाथ खतिवडाको संचालन , उपाध्यक्ष राजेन्द्र उप्रेतीको स्वागतमा संचालनमा सम्पन्न भएको थियो ।
यस प्रतियोगिता बाट छनौट भएका खेलाडीहरुलाई आवश्यक तालिमको आयोजना गरि कनकाई खेलकुद प्रतिष्ठानको एउटा टिम तयार गरिने खेल संयोजक विश्वविजय खरेलले जानकारी दिनुभयो ।