कनकाई अनलाईन
मेचीनगर । झापा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा उम्मेद्वार राम कार्की र प्रदेश सभा २ का उम्मेद्वार गोपाल बुढाथोकी शुक्रवार मेचीनगर–१२ का विभिन्न टोलमा आयोजित चुनावी कोण सभामा व्यस्त रहे ।
चुनावी प्रचारप्रसार कार्यक्रमलाई तीव्रता दिने क्रममा उम्मेद्वारहरुले धाइजनका मतदातासँग भेटघाट समेत गरेका छन् । वडाको कालिझोडा चोकमा आयोजित कोणसभामा बोल्दै प्रतिनिधि सभा उम्मेद्वार कार्कीले समाजमा दुई खालका मान्छेहरु रहेको बताए ।
‘यहाँ हुने खाने र हुँदा खाने वर्गबीच लडाइँ छ,’ उनले उदाहरण दिँदै भने–‘चिया बगानमा गयौँ भने त्यहाँ चिया टिप्ने छन, अर्को थरिका मान्छे सिसाको घरभित्रबाट हेर्ने खालका छन् ।’
कार्कीले चिया बगानको जस्तै राजनीतिक पार्टीमा पनि दुई थरीका प्रवृत्ति रहेको बताए । उनले एउटा पक्ष गरी खाने र अर्को शोषक वर्ग रहेकाले कतातिर लाग्ने त्यो आफैंँले फैसला गर्ने दिन आएको बताए । ‘उनीहरुसँग (काङ्ग्रेस) टिभी छ, रेडियो छ, हामीसँग के छ त भन्दा सङ्ख्या बढी छ, त्यो सङ्ख्या बढी भयो भने हामीले जित्छौँ ।’
नेता कार्कीले राजनीतिलाई डोजरको संज्ञा दिँदै डोजरले माटो सम्याउने काम गरे जस्तै कम्युनिस्टले मात्र त्यो चलाउन सक्ने दाबी गरे ।
कार्कीले आफूलाई टुरिस्ट नेता भनेकोप्रति कडा आपत्ति जनाउँदै जन्म र मृत्यु आफ्नो हातमा नहुने बताए । उनले भने–‘जन्म, मृत्युको टुङ्गो छैन्, कोही मोरङबाट यता आउँदाआउँदै बाटैमा मर्न सक्छन् त कोही सिलिगुडीको नर्सिङ होममा जन्मिन्छन्, के अब उनीहरु टुरिस्ट भएँ त ?’
२०३५ सालदेखि राजनीतिमा क्रियाशील रहँदै आएको चर्चा गर्दै उनले झापालाई राजनीतिको कर्मभूमि बनाएको बताए । ‘मेरो घर यहीँनेर छ । तर, राष्ट्रिय राजनीतिकको दौरानमा सबैतिर पुग्नु पर्ने बाध्यता मेरो छ, यसबीचमा म धैरै पटक आएँ गएँ ।’
कार्यक्रममा निर्वाचन परिचालन कमिटीका क्षेत्रीय संयोजक विष्णु प्रसाइँ रमेश भट्टराई लगायतले बोलेका थिए । दुवै उम्मेद्वारले चारआली, सहरेडाँगी, कालिझोडालगायतका विभिन्न स्थानमा घरदैलो तथा कोणसभा गरेका छन् ।
यस्तै, प्रदेश सभा २ का उम्मेद्वार श्रीप्रसाद मैनालीले मेचीनगर–३ का मतदातासँग भेटघाट गरेका छन् ।
वडाका विभिन्न चोकमा आयोजित चुनावी कोणसभामा बोल्दै उम्मेद्वार मैनालीले विकासप्रेमी उम्मेद्वारलाई जिताउन आव्हान गरे । उनले सर्वहारा वर्गको प्रतिनिधित्व गर्ने कम्युनिस्ट पार्टीका उम्मेद्वारलाई जिताए मात्र परिवर्तन सम्भव हुने बताए ।
……………