Kanakai Online

राजा हटाउन नसक्नेलाई भोट नदिन सिटौलाको अपिल 


शुक्रवार, मंसिर ८, २०७४ |

 कनकाई अनलाईन
 भद्रपुर, ८ मंसीर नेपाली काँग्रेसका नेता तथा संघीय संसद झापा क्षेत्र नम्वर ३ का उम्मेद्वार कृष्णप्रसाद सिटौलाले घोषणा पत्रबाट राजा हटाउन नसक्ने पार्टीका उम्मेद्वार गणतन्त्रको पक्षधर हुन नसक्ने बताएका छन् ।
चुनावी सभा अन्र्तगत झापाको भद्रपुर स्थित सगरमाथा चौकमा आयोजित कोण सभालाई सम्बोधन गर्दै नेता सिटौलाले राजतन्त्रको वकालत गर्ने अनि परिवर्तनगामीको प्रतिनिधि हुँ भनी भ्रम छोड्ने गणतन्त्रको पक्षधर नभएको बताएका हुन् । पूर्व उपप्रधानमन्त्री समेत भइ सकेका सिटौलाले संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार गर्न नसक्ने राप्रपाका उम्मेद्वारलाई परिवर्तनका पक्षधरले मतदान गर्न नहुने बताएका हुन् ।
नेपाली राजनीतिको परिवर्तनगामी इतिहाँस बोकेको झापा क्षेत्र नम्वर ३ को माटोले परिवर्तन विरोधीलाई स्वीकार नगर्ने भन्दै सिटौलाले उम्मेद्वार नभएका बामपन्थी मतदाताको प्रतिनिधि बन्न आफू इमान्दार भएर आएको उल्लेख गरे । उनले हिजोका निर्वाचनमा एमाले माओवादीले आफूलाई प्रतिष्पर्धी ठाने पनि यस निर्वाचनमा परिवर्तनको नेतृत्व गर्न ठाउँ दिएकोले निर्धक्क मतदान गर्न सवै मतदातालाई अनुरोध समेत गरेका छन् ।
प्रदेश सभा अन्र्तगत क्षेत्र नम्वर ३ को २ का उम्मेदवार भगिरथ पोद्धारले ग्रामीण इलाकाका रुपमा रहेको आफ्नो क्षेत्रको विकासका लागि सडक, कृषि, शिक्षा र स्वास्थ्य सेवाको विकास पहिलो प्राथमिकतामा राखेको बताएका छन् । चुनावी अभियान अन्र्तगत हल्दिवारी २ का विभिन्न टोलमा आयोजित कोण सभालाई सम्बोधन गर्दै पोद्धारले ग्रामीण सडक स्तरीकरण, कृषिलाई व्यावसायिककरण, प्राविधिक शिक्षामा कृषक,मजदुर, तथा पिछडा वर्गको पहुँच विस्तार गर्ने र अतिआवश्यकीय स्वास्थ्य सेवा प्रदान गर्न हल्दिावारी र बाह्रदशीमा ५०, ५० शैयाका सरकारी अस्पताल निर्माण गर्ने प्रतिबद्धता राखेका हुन् । उनले एमाले, राप्रपा, माओवादीका कार्यकर्ताले समेत आफूलाई मतदान गर्ने विश्वास व्यक्त गरे ।
हरेक घर घरका समस्या मैले बुझेको छु भन्दै पोद्धारले काँग्रेसको रुख चिन्हमा सवै पार्टीका कार्यकर्ता मतदान गर्न उत्साहित रहेको विश्वास ब्यक्त गरेका हुन् ।