कनकाई अनलाईन
शान्तिनगर । झापा क्षेत्र नं. १ मा बाम प्रगतिशील राष्ट्रबादी गठबन्धनको तर्फबाट प्रतिनिधिसभा उम्मेद्वार राम कार्कीले आफुले घुमे जति गाउँ घुम्न नेपाली काङ्ग्रेसका उम्मेद्वारहरुलाई अरु २० वर्ष लाग्ने टिप्पणी गरेका छन् ।
भूमिगत राजनीतिक जीवनमा लामो समय सेल्टर बसेको शान्तिनगरका विभिन्न गाउँ वस्तीहरु नियाल्दै विहीवार बुद्धशान्ति–६ को गौडा पुगेका कार्कीले चुनावी सभालाई सम्बोधन गर्ने क्रममा प्रतिष्पर्धी काङ्ग्रेसका उम्मेद्वारलाई चुनौति दिदै त्यस्तो टिप्पणी गरेका हुन् ।
झापाको पहाड भनेर चिनिने शान्तिनगर गाविस अहिले बुद्धशान्ति गाउँपालिका भएको छ । बुद्धशान्तिको वडा नं. ६ गौडामा कार्कीले बिहीवार एकैदिन तीन ठाउँ सभा गरेका छन् । सभामा झापा क्षेत्र नं. १ को प्रदेश ‘क’ मा बाम गठबन्धनको तर्फबाट उम्मेद्वार बनेका लोकप्रिय नेता गोपाल बुढाथोकी साथै थिए ।
‘काङ्ग्रेसका केही केही उम्मेद्वारहरुले चुनाव जित्न त गाउँ घुमेको पो हुनु पर्छ भन्दैछन् अरे’, इलाम र झापाको सीमानामा पर्ने देवानछापतिर फर्किएर पूर्व सञ्चारमन्त्री समेत रहेका माओबादी केन्द्रका पोलिट्व्युरो सदस्य कार्कीले भने–‘मेरो भूमिगत राजनीतिको सुरुवात र वैवाहिक जीवनको सुरुवात यही शान्तिनगरको चुल्ठेबाट भएको हो ।’
उनले दुलही भित्राएको घर पनि सभाका सहभागीहरुलाई चिनाए । चुल्ठे घर भएका अमर सुनुवारको घरमा बिहेपछि उनले दुलही भित्राएको बताए ।
‘काङ्ग्रेसकाहरु हाम्रो इतिहास थाहा नपाएर भन्दा पनि अपमान गर्ने नियतले कहिले टुरिस्ट भन्ने आक्षेप लगाउँछन्, गाउँ वस्ती नै नदेखेको हो कि जस्तो गर्छन्’, उनले भाषणको क्रममा काङ्ग्रेसलाई चुनौति दिदै भने–‘मैले मेची अञ्चलको जति गाउँ वस्ती कुनै काङ्ग्रेसले घुमेको छैन, यहाँका उम्मेद्वारले त अरु २० वर्षमा पनि त्यति गाउँ घुमिसक्दैनन् ।’
कार्कीले शान्तिनगरवासीलाई नेकपा एमालेका अध्यक्ष केपी ओलीको सन्देश पनि सुनाए । कार्कीले आफु ओली कामरेडको रोजाइको उम्मेद्वार भएको बताए ।
‘साथीहरुले कुरा बुझिसक्नु भएको छ, तपाइँ जानुस्, जितेर आउनुस् भनेर मलाई ओली कामरेडले झापा क्षेत्र नं. १ मा उम्मेद्वार बनाएर पठाउनु भयो’–ओलीले उनलाई भनेको कुरा सुनाउँदै कार्कीले बताए ।
अब नेकपा एमाले र नेकपा माओबादी केन्द्र भनेर दुई वटा पार्टीको नाममा सम्बोधन गरिरहन जरुरी नभएको र दुईवटैलाई गाँसेर एउटै कम्युनिस्ट पार्टी भनेर सम्बोधन गर्न आवश्यक भइसकेको धारणा राख्दै बाम गठबन्धनका साझा उम्मेद्वार कार्कीले समयको मागले नै चुनावमा बामपन्थी गठबन्धन बनेको बताए ।
राप्रपाले बामबन्धनसँग सहकार्य गरेकोमा कार्कीले निकै प्रशंसा गरे ।
राप्रपा काङ्ग्रेससँग मिल्दा पूँजीपति मालिकहरुको पार्टी बन्ने र कम्युनिस्टहरुसँग मिल्दा गरीव र खेताला गोठालाहरुको पार्टी बन्ने विचार राख्दै नेता कार्कीले शान्तिनगरको विकासको जिम्मा अब आफुले लिने बताए ।
शान्तिनगर सुपारी, तरकारी उत्पादनको भण्डार नै भएको बताउँदै उनले झापाबाट उत्तरतिर चिवाभञ्ज्याङसम्मको नयाँ बाटो खुलेपछि नेपालको सुपारी लगायतका उत्पादन चीनको तिब्बतमा लगेर बेच्न सकिने विश्वास दिलाए ।
यसैविच, सोही कार्यक्रममा बोल्दै झापा क्षेत्र नं. १ को प्रदेश ‘ख’ का उम्मेद्वार गोपालचन्द्र बुढाथोकीले आफ्नो क्षेत्रका सबै काठे पोलहरु चुनाव जितेपछि हटाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
बाम गठबन्धनका साझा उम्मेद्वार बुढाथोकीसँग स्थानीयवासीले गाउँको विद्युत, खानेपानी, पहिरो र सडकको समस्या सुनाएका थिए ।
गाउँलेहरुको समस्या सुनिसकेपछि उनले विद्युतका लागि गाडिएका काठका पोलहरु आफुले चुनाव जितेको एक महिनाभित्रमा विस्थापित गरेर सिमेन्टका पोल लगाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले चुनाव जितेको ३ महिनाभित्रमा गौडा गाउँमा ५० केभीए क्षमताको विद्युत ट्रान्सफर्मर ल्याइदिने र खानेपानी तथा सडकको समस्या समाधान गर्ने आश्वासन दिए ।
शान्तिनगरको पहिरोको समस्या रोक्न टिमाइ खोलामा गिटीबालुवाको दोहन रोक्नु पर्ने आवश्यकता औल्याउँदै उनले बामपन्थी सरकार गठन भए लगत्तै टिमाईबाट जथाभावी ठेकेदारहरुले उठाइरहेको ढुङ्गावालुवा निषेध गरिने बताए ।
टिमाइको दोहन नरोकिए शान्तिनगरको पहिरोको समस्या आगामी दिनमा झन् भयावह हुने उनले बताए ।
…………..