Kanakai Online

मेची नेत्रालय गोल्डकपको अन्तिम चारमा रुपन्देही –११


बिहिवार, मंसिर ७, २०७४ |

कनकाई अनलाईन
विर्तामोड , मंसिर ७ गते । अग्नि रुपन्देही –११ मेची नेत्रालय काँकरभिट्टा गोल्डकपको तेस्रो संस्करणको सेमीफाइनलमा प्रवेश गरेको छ ।
विहिवार काँकरभिट्टा माविको खेल मैदानमा भएको प्रतियोगितामा गत सालको उपविजेता बिभागीय टिम सशस्त्र प्रहरी बल काठमाडौँलाई ३–१ गोल अन्तरले हराउँदै सेमीफाइनलको यात्रा तय गरेको हो ।
रुपन्देही –११ ले खेलको सुरुवातीदेखि नै एपीएफलाई दवावमा राखेको थियो । बारम्बार विपक्षीमाथि हावी भएको रुपन्देहीले पहिलो गोल गर्न १५ मिनेट खर्चिनु परेको थियो । दिपक राईको पासमा रजिन धिमालले डिबक्स बाहिरको १७ याडबाट गरेको प्रहार गोलरक्षक राजु नगरकोटीले कुनै भेउ नै पाउनुभएन । त्यसको ३ मिनेट बित्न नपाउँदै खेलको १८ औँ मिनेटमा सेड्रिक आवाले सेन्ट्रल एट्याक बललाई सुन्दर ड्रिब्लिङका साथ जाली चुमाउनुभएको थियो ।
दोश्रो हाफको १२ मिनेटमा एपीएफका नविन लामाले ठूलो डिबक्सभित्रबाट प्रहार गरेको बललाई सन्दिप सिक्खकारले जम्पिङ्ग हेडमार्फत सुन्दर गोल गर्नुभयो । खेलको ३९ औँ मिनेटमा रुपेश केसीको पासलाई दिपक राईले सहज रुपमा जाली चुमाउनुयो ।
शिवसताक्षी गोल्डकपको क्वाटरफाइनल खेलमा रुपन्देही –११ लाई हराएको एपीएफले मेची नेत्रालय काँकरभिट्टा गोल्डकपमा भने रुपन्देही बाधक बन्यो ।
खेलको म्यान अफ द म्याच रुपन्देही –११ का गोलरक्षक दिलिप क्षेत्री घोषित भए । उनलाई दुर्गा चन्द्र मेमोरियल ट्रष्टले प्रदान गरेको नगद १० हजारसहित पुरस्कृत गरिएको थियो ।
शुक्रवारको खेल साविक विजेता झापा –११ र सुदुरपश्चिम –११ बीच हुने आयोजक क्लबका कोषाध्यक्ष पेमा नर्वु शेर्पाले बताउनुभयो ।
फोटो ः रुपन्देहि ११ र एपिएफका खेलाडीहरु प्रतिस्पर्धा गर्दै

सम्बन्धित खबर