कनकाई अनलाईन
अत्यधिक गर्मीका कारण झापाका दुई वटा नगरपालिकाले दुई दिन बिद्यालयमा बिदा थप गरेका छन् । मेचीनगर नगरपालिका र कनकाई नगरपालिकाले सूचना जारी गर्दै आइतवार र सोमवार विद्यालयमा विदा थपेका हुन् ।
अत्याधिक गर्मी बढेको भन्दै बर्खे विदा कटौती गरी विदा थप गरिएको मेचीनगर नगर शिक्षा कार्यालय शाखाले जनाएको छ ।
मेचीनगरका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीले एक सूचना निकालेर विद्यालय विदा गर्न निर्देशन दिएका छन् । केही दिनदेखि झापासहित तराईका जिल्लामा गर्मी बढेको छ । मेचीनगरले गत विहीवारदेखि तीन दिन विदा दिएको थियो । गर्मीका कारण विदालाई निरन्तरता दिँदै दुई दिन थपेको हो ।
यता कनकाई नगरपालिका भित्रका विद्यालय पनि आइतबार र सोमबार विदा हुने भएको छ । अत्याधिक गर्मी बढेको भन्दै नगर क्षेत्रका विद्यालयमा विदा थप गरिएको जनाइएको छ ।
कनकाईका शिक्षा शाखाका हरिप्रसाद मिश्रले एक सूचना निकालेर आगामी बर्खे विदाबाट कट्टा हुनेगरी आइतबार र सोमबार विद्यालय विदा दिइएको जानकारी दिएका हुन् ।
झापाका अन्य पालिकाले पनि गर्मिका कारण बिदा थप गर्न सक्नेछन । भद्रपुर नगरले पनि बिदा थप गरेको बुझिएको छ ।