
कनकाई अनलाईन
झापाको भद्रपुरमा आयोजित चन्द्रगढी महिला गोल्डकपको उपाधि विभागिय टिम सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबले हात जितेको छ । सोमवार आज सम्पन्न फाईनल खेलमा अर्काे विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० को झिनो गोल अन्तरले पराजित गर्दै सशस्त्रले उपाधि हात पारेको हो ।
उपाधिसँगै एपिएफले नगद ११ लाख रुपैँया नगद पुरस्कार प्राप्त गरेको छ । उपबिजयी बनेको आर्मीले नगद ५ लाख रुपैयाँमा चित्त बुझाएको छ । सशस्त्रलाई उपाधि दिलाउन एक मात्र गोल रश्मिकुमारी घिसिङले जितका लागि निर्णायक गोल गर्नुभयो । खेलको ७२ औँ मिनेटमा कप्तान अनिता बस्नेतले डिबक्समा मिलाइदिएको पासलाई अनमार्क रहनुभएकी घिसिङले हेडमार्फत सुन्दर गर्दै टिमका लागि निर्णायक गोल गर्नुभयो ।
खेलको अधिकांश समय बल पोजिसन राखेको एपिएफले निर्धारित ९० मिनेटमा गोल गर्ने थुप्रै अवसर बनाए पनि थप स्कोर भने निकाल्न सकेन । एपिएफका डिफेन्ससामु आर्मीका स्ट्राइकर चल्न नसक्दा उपविजेतामा सीमित रहेको छ ।
खेलको प्लेयर अफ द म्याच विजेता टिम एपिएफकी सरु लिम्बु हुदै नगद ११ हजार रुपैयाँ प्राप्त गर्नुभयो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी विजेता टिम एपिएफकी रेनुका नगरकोटी हुनुभयो । उहाँले नगद एक लाख एक हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो । उत्कृष्ट गोलकिपर एपिएफकी अञ्जना राना मगर, डिफेन्डर गीता राना एपिएफ, मिडफिल्डर दिपा शाही आर्मी, उच्च गोलकर्ता रश्मिकुमारी घिसिङ एपिएफ, राइजिङ प्लेयर सबनम राई आयोजक चन्द्रगढी युथ क्लवका खेलाडीहरु हुनुभयो उहाँहरु सबैले जनही नगद २५ हजार रुपैयाँ प्राप्त गर्नुभयो ।
बैशाख ५ गतेदेखि सुरु भएको प्रतियोगितामा त्रिभुवन आर्मी फुबटल क्लब, आरएस पोखरा फुटबल क्लब, भुटानको थिम्पु सिटी क्लब, चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस फुटबल क्लब, आयोजक चन्द्रगढी युवा क्लब, भारतको रानी लक्ष्मीबाई स्पोर्टस एकेडेमी, सशस्त्र प्रहरीको एपिएफ क्लब, संकटा फुटबल क्लब र ओखलढुंगाको पदमा स्पोर्टस् क्लबको सहभागिता रहेको थियो ।


