कनकाई अनलाईन
झापाको चन्द्रगढीमा जारी प्रथम चन्द्रगढी महिला गोल्डकपको आज बुधवार सम्पन्न खेलमा नेपाल पुलिस क्लवको टिमले पाहुना टोली भारतको रानी लक्ष्मीबाई फुटबल एकेडेमीलाई ५—१ गोल अन्तरले सहज पराजित गदै सेमिफाईनलमा प्रवेश पाएको छ । सेमिफाइनलमा पुलिसले अर्को विभागिय टिम त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ । खेलको सुरुवाती अग्रता भने पाहुना टोली लक्ष्मीबाईले बनाएको थियो ।
खेलको १४ औँ मिनेटमा लक्ष्मीबाईले अग्रता लियो । पुलिसकी गोलकिपर उषा नाथले डिबक्स बाहिर आएर गोल समातेपछि उहाँ रातो कार्ड खाँदै मैदान बाहिरिनुपरेको थियो । उहाँको स्थानमा वैकल्पिक गोलकिपर सपना राई मैदान प्रवेश गर्नुभयो ।
नाथको स्थानमा सहारा लिम्बुले मैदान छोडेपछि पुलिस १० खेलाडीमा सीमित भएको मौकाको फाइदा उठाउदै लक्ष्मीबाईले अग्रता बनाएको थियो । लक्ष्मीबाईले डिबक्स नजिकै पाएको त्यो फ्रिकिकलाई बिनी कुमारीले प्रहार गर्नुभयो । पुलिसकी गोलकिपरबाट रिबाउन्स भएको बललाई हेमन्ती कुमारीले गोल गर्दै खेलमा अग्रता बनाउनुभयो ।
१–० गोलले पछि परेको पुलिसले त्यसको केही समय लय गुमाएको थियो । पुलिसले ३८ औँ मिनेटमा खेल बराबरी ग¥यो । मिना देउवाको क्रस पासमा रेखा पौडेलले हेडमार्फत गोल गर्दै पुलिसलाई खेलमा फर्काउनुभयो ।
खेलको ४६ औँ मिनेटमा पुलिसले अर्काे गोल गर्दै खेलमा फर्किएको थियो । पूजा रानाले गरेको कर्नर प्रहार लक्ष्मीबाईकी गोलकिपर रुपाली कुमारीको हातबाट रिबाउन्स भएको मौकामा कप्तान अमृता जैसीले वान टचमै गोल गर्नुभयो ।
५३ औँ मिनेटमा पुलिसले तेस्रो गोल गर्नपुग्यो । पूजा रानाको क्रस पासमा सम्झना लावतीले गोल गर्दै पुलिसको अग्रता बढाउन सफल बनेको थियो । खेलको ६७ औँ मिनेटमा पुलिसका नियमित स्ट्राइकर मिना देउवाले पुलिसका लागि चौथो गोल गर्नुभयो । पूजा रानाको फ्रिकिकमा रेखा पौडेलले डिबक्समा मिलाइदिएको बललाई देउवाले गोल गर्नपुग्नुभयो ।
पुलिसका खेलाडी यतिकैमा रोकिने स्थितिमा हुनुहुन्थेन । खेलको इन्ज्युरी समयमा पूजा रानाले गोल गर्दै टिमको गोल अन्तर ५–१ मा बनाउनुभयो । मैदानको मध्यभागबाट प्रहार गरेको लङ रेञ्जर सटले लक्ष्मीबाईका गोलकिपरको हातमा लाग्दै जाली चुमेको थियो ।
खेलको प्लेयर अफ द म्याच विजेता टिम नेपाल पुलिसकी पूजा राना हुनुभयो । रानाले नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो । बिहीबारको अन्तिम क्वार्टर फाइनल खेल सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब र संकटा फुटबल क्लबबीच हुनेछ ।


