Kanakai Online

झापा ११ ले दोस्रो पटक चुम्यो विराट गोल्डकपको उपाधि


सोमवार, वैशाख ७, २०८३ |

कनकई अनलाईन
झापा ११ ले प्रतिष्ठित विराट गोल्डकप फुटबल प्रतियोगिताको ३८औँ संस्करणको उपाधि जित्दै आफ्नो प्रभावशाली उपस्थिति पुनः कायम राखेको छ ।

सहिद रंगशालामा गएराति सम्पन्न रोमाञ्चक फाइनल खेलमा घरेलु टोली सम्राट स्पोर्टिङ क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै झापा ११ ले दोस्रो पटक उपाधि उचालेको हो।

यो जितसँगै झापा ११ ले ११ लाख रुपैयाँ नगद पुरस्कार हात पार्दा उपविजेता सम्राट स्पोर्टिङ क्लबले ५ लाख रुपैयाँमा सन्तोष मान्नुपरेको छ। यसअघि २०७१ सालमा नेपाल आर्मी क्लबलाई पराजित गर्दै झापाले पहिलो पटक उपाधि जितेको थियो।
फाइनल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दुवै टोलीले प्रारम्भिक समयमा केही उत्कृष्ट अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेनन्। खेलको ८१औँ मिनेटमा झापा ११ का राजेश दाहालले गोल गर्दै खेलको गतिलाई निर्णायक मोडमा पुर्‍याए। गोलरक्षक विशाल सुनारको लामो पासलाई सदुपयोग गर्दै उनले टोलीलाई अग्रता दिलाए।

त्यसको केही मिनेटपछि नै दिवस उराउले अर्को गोल थप्दै झापाको जित लगभग सुनिश्चित गरे। फागुराम थारूको सटीक पासमा उराउले गरेको गोल निर्णायक सावित भयो। खेलको इन्जुरी समयमा सम्राटका सौरभ तामाङले एक गोल फर्काए पनि त्यसले खेलको परिणाम परिवर्तन गर्न सकेन।

पहिलो हाफमा सम्राटका सुरज तामाङको प्रहारलाई झापा ११ का गोलरक्षक विशाल सुनारले उत्कृष्ट बचाउ गरेका थिए भने झापा ११ का सुलमान किङको प्रहार पोस्ट बाहिरिएको थियो। दोस्रो हाफमा भने झापा ११ आक्रामक देखिएको थियो, तर थप गोलका अवसरहरू खेर गएका थिए।

फाइनलका नायक राजेश दाहाल ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै ११ हजार रुपैयाँ पुरस्कार जिते। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै झापा ११ कै फागुराम थारू सर्वाधिक गोलकर्ता बने। सम्राटका अशोक खवास ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित भए भने झापा ११ का विशाल सुनार उत्कृष्ट गोलरक्षक र सन्तोष बस्नेत उत्कृष्ट प्रशिक्षक घोषित भए।
चैत २८ गतेदेखि सुरु भएको प्रतियोगितामा भारतका टोलीसहित आठ टिमको सहभागिता रहेको थियो।