Kanakai Online

बिर्तामोडमा भयानक, सडक दुर्घटनामा श्रीमानको मृत्यु श्रीमती घाईते


शुक्रवार, माघ ३, २०८२ |

कनकाई अनलाईन

झापा बिर्तामोड नगरपालिका–५ सिटी सेन्टर अगाडि पूर्व–पश्चिम लोकमार्गमा बिहीबार राती भएको सवारी दुर्घटनामा श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छन् ।

बिर्तामोडबाट बुट्टाबारीतर्फ जाँदै गरेको ना ८ ख २२९७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको (नम्बर नखुलेको) मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकल चालक हल्दिवारी गाउँपालिका –४ का ३२ वर्षीय खगेन्द्र मगर र पछाडि सवार उनकी २५ वर्षीया श्रीमती सुकमाया तामाङ गम्भीर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुर्घटनापछि मोटरसाइकलमा आगलागी भई पूर्ण रूपमा जलेको प्रहरीले जनाएको छ। घाइते दुवैलाई उपचारका लागि बिर्तामोडस्थित बी एन्ड सी अस्पताल ल्याइएको थियो।

उपचारकै क्रममा राति करिब ९ बजे श्रीमान खगेन्द्र मगरको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। श्रीमती सुकमाया तामाङको टाउकोमा गम्भीर चोट लागेको र उनको उपचार जारी रहेको छ।

दुर्घटनापछि भएको आगलागी प्रहरी तथा बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा साँझ करिब ८ः३० बजे नियन्त्रणमा लिइएको थियो। ट्रक जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको नियन्त्रणमा रहेको छ भने जलेको मोटरसाइकल इलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा राखिएको छ।

दुर्घटनामा संलग्न ट्रक चालक घटनापछि फरार रहेकाले खोजतलास कार्य भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।