
कनकाई अनलाईन
झापाको बिर्तामोड नगरपालिका–१ सुर्यनगर टोलस्थित काली मन्दिर नजिकबाट ठुलो परिमाणको लागुऔषध र नगद २ लाख ६७ हजार ५०० सहित लागुऔषध कारोबारमा संलग्न एक जनालाई आज पक्राउ गरेको छ । प्रहरीले विशेष सूचनाका आधारमा मंगलवार दिउसो साढे १ बजेको समयमा छापामारी सोही स्थानका ४० वर्षीय अजय राजवंशीलाई १२३ ग्राम १८० मिलिग्राम ब्राउन सुगर र नगद सहित राजवंशीलाई नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले राजवंशीको घरको कोठा खानतलासी गर्दा प्लास्टिक बाहेक १२३ ग्राम १८० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने खैरो लिसाइलो पदार्थ बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीले थप खानतलासी गर्दा उनको घरबाट नेपाली नगद दुई लाख ६७ हजार रुपैयाँ, भारतीय नगद २९ हजार ५०० रुपैयाँ, एक थान डिजिटल तराजु, एक थान कैँची, एक थान चक्कु र दुई थान मोबाइल फोनसमेत फेला पारेको छ । प्रहरीले पक्राउ गरिएको राजवंशीलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक खगेन्द्रबहादुर खड्काले बताउँनुभयो ।


