
कनकाई अनलाईन
विद्यार्थीहरुको आत्मरक्षा र देशप्रेम र माटोप्रतिको माया दर्शाउनका लागि उपयुक्त विधि मानिदै आएको स्कुलमा स्काउट कार्यक्रम मुख्य आकर्षण रहेको स्काउट क्याम्प फायर यहाँस्थित ग्लोवल एडुकेयर एकाडेमी सुरुङ्गामा भव्य रुपमा सम्पन्न गरिएको छ ।

स्काउटमा आबद्ध विद्यालयका १०० भन्दा बढी विद्यार्थीहरूको सहभागितामा शुक्रबार साँझ विद्यालयको प्राङ्गणमा स्काउट क्याम्प फायर गरिएको हो ।
कार्यक्रमको औचित्यमाथि प्रष्ट पार्दै कन्काई नगर स्काउट आयुक्त अरुण योगीले स्काउटको शैक्षिक अभियान अन्तर्गत नियमित कार्यक्रम भएकोले र विद्यार्थीहरूको स्काउट बढुवा व्याच प्रदान गर्नको लागि गरिने कार्यक्रम भएको जानकारी गराउनुभयो । उहाँले क्याम्पफायर घरभन्दा बाहिर गरिने भएकोले सानै उमेरदेखि बाहिर बस्दाखेरि कसरी बस्न सकिन्छ भन्ने विषयको ज्ञान पनि विद्यार्थीमा हुने जानकारी गराउनुभयो ।

स्काउटमा सरिक भएका विद्यार्थीहरु , विद्यार्थीका अभिभावक , शिक्षक , स्काउट प्रशिक्षकहरु साथै अतिथिहरूको उपस्थितिमा शुक्रबार साँझ विद्यालय प्राङ्गणमा क्याम फायर सहित स्काउटमा आबद्ध विद्यार्थीहरूबाट मनोरञ्जनात्मक कार्यक्रमहरू गीत , नृत्य प्रस्तुत गरीएक थियो भने उपस्थित सबैलाई स्काउटका बिद्यार्थीहरुले छमछमी नचाउदै रात्रीकालिन कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएका थिए ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि कनकाई नगरपालिका २ का वडा अध्यक्ष बलराम राई (प्रताप)ले स्काउटले अनुशासनका साथसाथै आफूलाई आपतविपत परेको बेलामा कसरी सुरक्षित रहने र अरुको कसरी सुरक्षा गर्ने भन्ने विषय समेत सिकाउने भएकाले विद्यालय स्तरमा यस्ता कार्यक्रम गरिनु महत्वपूर्ण रहेको बताउनुभयो ।
उहाँले आफ्ना बालबालिकाको रुचि अनुसारको विषय छनोट गरेर अभिभावकहरूले सो विषयसँग सम्बन्धित विधामा बालबालिकालाई सरिक नगराएका कारण बालबालिकाहरू कुलतको बाटोमा फस्ने गरेको वताउँदै विद्यालयले अतिरिक्त क्रियाकलाप अन्तर्गत स्काउट लगायतका खेलकुद मनोरञ्जनात्मक कार्यक्रमहरूमा विद्यार्थीलाई सरिक गराउँदै उनीहरूको प्रतिभा प्रस्फुटन गराउने कार्य गरेकोमा विद्यालय परिवारलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
त्यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कन्काई नगर प्याब्सनका अध्यक्ष विनोद उप्रेतीले आफू नगर प्याब्सनको अध्यक्ष भएर नियालिरहँदा ग्लोबल एडुकेयर एकेडेमीले विद्यार्थीहरु भित्र रहेको अन्तर्निहित क्षमता प्रस्फुटन गर्नको लागि विविध अतिरिक्त क्रियाकलापहरू गर्दै विद्यार्थीलाई सक्रिय रुपमा सहभागिता गराउँदै आएको देखिएको बताउनुभयो । उहाँले विद्यालयले विद्यार्थीहरूको शारीरिक एवं मानसिक विकासको लागि गर्दै आएको अतिरिक्त क्रियाकलापको प्रशंसा गर्दै विद्यार्थीलाई अनुशासित र मर्यादित बनाउने स्काउट जस्तो कार्यक्रम विद्यालयमा राखेर क्याम्पफायर समेत गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
क्याम्फायर शिवसतासी ओपन स्काउट क्रियु दुर्गाप्रसाद उप्रेतीको नेतृत्वमा रेन्जर स्वस्तिका शिवा , रूपल दास , रोबर भोला महतो , निशान शंकर , अमृत बराइली , सलिन चुरौटे , बिद्यालयका स्काउट प्रशिक्षक दिवस रसाइली लगायतको टोलीले सम्पन्न गरेको थियो ।
कार्यक्रममा जिल्ला प्याब्सन झापाका सदस्य मोहन थापा, ग्लोबल एडुकेयर एकेडेमीका सिईओ विशाल लामा , झापा मेरिगोल्ड अङ्ग्रेजी विद्यालयका अध्यक्ष बेनुप्रसाद उप्रेती, हरिकुल अंग्रेजी विद्यालयका प्रिन्सिपल रोशन खत्री , दिव्य रत्न अंग्रेजी विद्यालयका प्रिन्सिपल सागर चौहान , ग्लोबल एडुकेयर एकेडेमीका पिटीए अध्यक्ष दिनेश प्रसाद भट्टराई , पशुपति अंग्रेजी विद्यालयका सञ्चालक सोहन उप्रेती , राष्ट्र सेवक वरिष्ठ प्रहरी नायब निरीक्षक मदन मैनाली , नगर स्काउट आयुक्त अरुण योगी नेपाल , स्काउट मास्टर नगेन्द्र सुवेदी लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा उपस्थित सम्पूर्णप्रति आभार सँगै धन्यवाद ज्ञापन गर्दै ग्लोबल स्काउट ट्रुपका अध्यक्ष तथा ग्लोबल एडुकेयर एकेडेमीका प्रिन्सिपल बिमल लामाले विद्यालयले विद्यार्थीलाई समय सापेक्ष शिक्षा दिनको लागि निरन्तर लागिपरेको बताउनुभयो । उहाँले विद्यालयले विद्यालयमा शैक्षिक गतिविधिसँगै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापसँग जोड्दै उनीहरु भित्र रहेको प्रतिभालाई प्रस्फुटन गराउने कार्य गर्दै आएको बताउँदै यसै अन्तर्गत रहेर विद्यार्थीलाई स्काउटसँग जोडेर यो कार्यक्रम आयोजना गरिएको जानकारी गराउनुभयो ।
कार्यक्रममा उपस्थित सबैलाई स्वागत राम भुजेलले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन विद्यालयको स्काउट प्रशिक्षक गोमा तिम्सिना आचार्यले गर्नुभएको थियो ।


