Kanakai Online

तराईकै पहिलो सामुदायिक वन कनकाईको २७ औं साधारणसभा दर्जनौ सम्मानित


शनिवार, मंसिर २१, २०८२ |

कनकाई अनलाईन

तराईकै सबैभन्दा पुरानो सामुदायिक वन कनकाई सामुदायिक वन उपभोक्ता समुहको आफ्नो २७ औं बार्षिक साधारणसभा विविध कार्यक्रमका विच शनिवार सम्पन्न भएको छ ।

वन समुहको कार्यलय परिसरमा आयोजित साधारण सभामा वन समूहका अध्यक्ष ख्याम ओलीले आर्थिक बर्ष २०८१÷२०८२ मा समुहबाट संचालन गरिएका विभिन्न योजना तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । त्यस्तै अध्यक्ष ओलिले आगामी आर्थिक बर्ष २०८२ ÷ २०८३ को बार्षिक निति तथा कार्यक्रम प्रस्तुत गर्दै वजेट निर्माण गर्दा वन संरक्षण , संवर्धन , तथा विकासमा कुल बजेटको ५० प्रतिशत छुट्याई बाँकी रहेको बजेटलाई १०० प्रतिशत मानी सोही अनुरुप वजेट निर्माण गरिएको बताउनु भयो ।

त्यसैगरी वन समुहका कोषाध्यक्ष श्रीप्रसाद खरेलले समुहमा बार्षिक रुपमा वन पैदावर , गैह्र वन पैदावर तथा आर्थिक बर्ष २०८१÷२०८२ को बैक तथा नगद मौजातबाट समेत आम्दानि हुने २०८२÷२०८३ को अनुमानित ४ करोड ३६ लाख २९ हजार छ सय छब्बीस रुपैयाँ बराबरको कार्ययोजना समेत समेटिएको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
आन्तरिक लेखा परिक्षण समितिको संयोजकसमेत रहेका कोषाध्यक्ष खरेलले विभिन्न सल्लाह सुझाव सहितको आन्तरिक लेखा परीक्षण प्रतिवेदन सभामा पेश गर्नुभएको थियो ।

सभाको बन्द सत्रले अध्यक्ष ओली र कोषाध्यक्ष खरेलबाट प्रस्तुत भएका प्रतिवेदनमा व्यापक छलफल गरी सर्वसम्मतले पारित गरेको संस्थाका कार्यलय सचिव नेत्र भट्टराईले जानकारी गराउनु भयो ।

कार्यक्रममा अघिल्ला बर्षका कार्यक्रमलाई निरन्तरता दिदै उपभोक्ता परिवारबाट सामुदायिक विद्यालयमा अध्ययनरत एसइइमा उत्कृष्ट नतिजा ल्याउने तीनजना विद्यार्थीलाई सम्मान गरिएको छ । सम्मानित हुनेहरूमा कनकाई मावि सुरुङ्गाबाट एसइई २०८१ मा उत्कृष्ट नतिजा ल्याउने गौरेव ढुंगेल , छात्रातर्फ उत्कृष्ट नतिजा ल्याउने आर्जु ढकाल र जेहेन्दारतर्फ निर्मल काफ्लेलाई सम्मानपत्र सहित नगद ५ हजारले सम्मान गरिएको छ ।

त्यसैगरी कार्यक्रममा पूर्व समितिलाई गरिँदै आएको सम्मानमा २०७० बाट २०७४ साल सम्मको रुद्रप्रसाद चिमरिया नेतृत्वको कार्यसमितिलाई सम्मानपत्रबाट सम्मान गरिएको थियो भने उत्कृष्ट कर्मचारीतर्फ वन घेरालुका रुपमा कार्यरत हाल स्वेच्छिक अवकाश लिनुभएका जितबहादुर भट्टराईलाई सम्मानपत्र सहित नगद रु. ५ हजार बाट सम्मान गरिएको छ ।

वन समूहका क वर्गका उपभोक्ता परिवारभित्रबाट जेष्ठ नागरिकलाई गर्दै आएको सम्मानबाट कनकाई ४ बाट वृद्धतर्फ धनपति सिग्देल , वृद्धातर्फ नरमाया सुवेदी , वडा नम्बर ३ साविक वडा नं ५ बाट वृद्धतर्फ रामबहादुर राई , वृद्धातर्फ नैनकला भट्टराई , वडा नं ३ साविक वडा नम्बर ९ बाट वृद्धतर्फ भीमप्रसाद संग्रौला , वृद्धातर्फ गंगादेवी उप्रेती , वडा नम्बर २ साविक वडा नम्बर ८ बाट वृद्धतर्फ देवीचरण थपलिया , वृद्धातर्फ पदममाया श्रेष्ठ लगायतका मातापिता त्यसैगरी फरक क्षमता भएका व्यक्तिहरूमा वडा नम्बर ४ बाट भूमिका तिम्सिना , वडा नम्बर ३ साविक ५ बाट प्रज्वल अधिकारी , वडा नम्बर ३ साविक ९ बाट किसन मुर्मु र वडा नं २ साविक ८ बाट राधिका कटुवाललाई सम्मान गरिएको छ । त्यस्तै साहित्यकार तथा शिक्षासेवीको सम्मानबाट कन्काई नगरपालिका ४ निवासी शिक्षासेवी, साहित्यकार जीवनाथ सुवेदीलाई सम्मान गरिएको छ । वृद्धवृद्धा फरक क्षमता भएका व्यक्ति र साहित्यकार सुवेदीलाई वनको कार्यसमितिले घरघरमै गएर सम्मान गरिने साधारण सभामा घोषणा गरिएको छ ।

कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नेपालमा विभिन्न अप्ठ्यारा चुनौतीहरूको सामना गर्दै सामुदायिक वनहरू सफल हुँदै गएको बताउनुभयो । यसरी सामुदायिकहरू नेपालमा सफल बन्दै गएको देखेपछि विश्वका धेरै देशमा नेपालको सिको गर्दै कानुनहरू बनाउन थालेको र विश्वका २० वटा भन्दा बढी देशहरुमा सामुदायिक वनको अवधारणा ल्याएको जानकारी गराउनुभयो । उहाँले विगतका दिनहरु सम्झदै सामुदायिक वन समुदायमा ल्याउनको लागि गरेका कसरतहरु त्यतिबेलाका संघर्षहरु समेत सभामा जानकारी गराउँदै समुदायनै वनको पहरेदार भएको बताउनुभयो ।

कार्यक्रममा सबडिभिजन वन कार्यालय कनकाईका प्रमुख महेन्द्र पौडेल , संविधानसभा सदस्य अम्बिका राजवंशी , उपभोक्ता महासङ्घ कोशी प्रदेशका अध्यक्ष तुलसीराम संग्रौला , सम्मानित व्यक्तित्वको तर्फबाट तथा कनकाई नगरपालिकाकाका वडा अध्यक्षको तर्फबाट युवराज चम्लागाई , कनकाई बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष तथा कन्काई बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष प्रकाश चुडाल , संघ संस्थाको तर्फबाट लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ सी का फस्ट भाइस डिस्ट्रिक्ट गभर्नर लिलाप्रसाद चिमरिया , सल्लाहकारहरूको तर्फबाट भीष्म मैनाली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

वनसँग आबद्ध व्यक्तित्वहरू , विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि , शैक्षिक व्यक्तित्व , सल्लाहकार लगायतको आतिथ्यता रहेको कार्यक्रममा उपस्थित सबैलाई स्वागत वन समुहका उपाध्यक्ष ललितवहादुर कार्कीले गर्नुभएको थियो , भने सञ्चालन सचिव मान्ता खरेलले गर्नुभएको थियो ।
यता वन समुहका अध्यक्ष ख्याम ओलीले आफ्नो बार्षिक कार्ययोजना प्रस्तुत गर्नुहुदै वन समुहको लगानीमा नगरपालिकाको मापदण्डमा नपरेका बाटाहरु मर्मत सम्भार गरिने कार्यलाई निरन्तता दिने, नदि तटबन्ध, वनको सिचाईका लागि आवश्यक डिप बोरिङको व्यावस्था गरिने जस्ता कार्यक्रमहरु रहेको बताउँनुभयो । साथै अध्यक्ष ओलीले पर्यापयटनका लागि विशेष गुरुयोजना अनुसारको काम भइरहेको वन संरक्षणका लागि टोल गस्ती लगायातका कार्यक्रमहरु प्रस्तुत गर्नुको साथै सामुदायिक वन समुहले आयआर्यजनका विभिन्न तालिम सञ्चालन गरिने तथा सामुदायिक वन समुहको लगानीमा सभाहलको निर्माण समेत अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।