कनकाई अनलाईन
भारतको बंगाल खाडी र अरब सागरमा बनेका दुईटा न्यून चापीय प्रणालीको प्रभाव नेपालमा शनिबारसम्म रहने देखिएको छ । जल तथा मौसम विज्ञान विभागले सो प्रणालीले शनिबारसम्म मधेश र कोशी प्रदेशमा भारी वर्षा गराउने सम्भावना रहेको बताएको छ ।
हाल सोही प्रणालीका कारण हिमाली तथा उच्च हिमाली भेगमा वर्षा र हिमपात भइरहेको छ । उक्त प्रणालीको प्रभावले बिहीबारदेखि शनिबारसम्म मधेश र कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।
साथै, गण्डकी र लुम्बिनी प्रदेशका पूर्वी भूभागका स्थानमा पनि हल्का वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका उच्च पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको पनि विभागले जनाएको छ ।
हालको विश्लेषणअनुसार बागमती, कमला, कोशी र कन्काई नदी र यिनका सहायक नदीमा बहाव बढ्नसक्ने देखिएकाले उपत्यकासहित दुई दर्जन जिल्लाका नदीमा आकस्मिक बहावको सम्भावना रहेकोसमेत विभागले जानकारी दिएको छ ।
जसअनुसार उपत्यका, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन, सिन्धुली, बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी, संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ र सुनसरी जिल्ला हुँदै बहने ससाना नदीमा आकस्मिक बहावको सम्भावना उच्च हुने छ ।
सम्भावित वर्षा र हिमपातले पहिरोलगायतको जोखिम बढ्ने भएकाले सम्बन्धित निकाय र सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।


