कनकाई अनलाईन
श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर झापाको बिर्तामोडमा हुन लागेको श्रीकृष्ण जन्माष्टमी महाउत्सव २०८२ को तयारी पूरा भएको छ ।
भोलि शनिवार श्री राधा माधव भजनस्थलीको बिर्तामोडस्थित अग्रसेन भवनमा हुने श्रीकृष्ण जन्माष्टमी महाउत्सवको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
श्री राधा माधव भजनस्थलीका अध्यक्षसमेत रहेका भक्ति सिद्धान्त दास ब्रम्हाचारीले आफु इस्कोनको संस्थापक अध्यक्षसमेत भएकाले ५० बर्षअघिदेखि जसरी इस्कोनले श्रीकृष्ण जन्माष्टमी मनाउँदै आएको थियो त्यसरी नै कार्यक्रम हुने बताएका छन् ।
उनका अनुसार इस्कोन र भजनस्थलीको उदेश्य हिन्दू धर्मावलम्बीहरुलाई भागवत गीता र श्रीमद् भागवत महापुराणका विषयमा समाजमा प्रचार प्रसार रहेको हो । उनले त्यसैले त्यसलाई स्वीकार गर्न अप्ठेरो मान्नु पर्ने कुनै अप्ठेरो नरहेका बताए । ‘त्यसले गर्दा दुवैले एकअर्कामा अङ्गालो हाल्नु उपलब्धी हो’ ब्रम्हाचारीले भने ‘एकअर्कालाई आरोप प्रत्यारोपण गर्नु हाम्रो कमजोरी हो ।’
कार्यक्रममा शिद्ध स्वरुप दास ब्रम्हाचारी, मनः शिक्षा दास ब्रम्हाचारी, शान्तिदाता माधव दास, विनी पनि श्रीकृष्ण जन्माष्टमी महाउत्सवका सहभागी हुनेछन् ।
भगवान श्रीकृष्ण र गुरुको प्रशन्नता, सनातन धर्मको रक्षा र प्रर्वधन, युवालाई सनातन संस्कृति र अध्यात्मिकसंग जोड्नु, हरे कृष्ण महामन्त्रको प्रचार गर्नु, सबैलाई कृष्ण सेवामा लाग्न प्रेरणा दिने उद्देश्यले हरे कृष्ण अभियान सञ्चालन गरिएको ब्रम्हाचारीले जानकारी दिए ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा भोलि शनिवार विहान ७ः३० बजेदेखि विशेष कार्यक्रम हुने जनाइएको छ । जस अन्तरगत दर्शन आरती र गुरु पूजा, कृष्ण कथा १, विश्व शान्ति महायज्ञ, भजन कीर्तन, कृष्ण कथा २, भजन कीर्तन, हरे कृष्ण वृत्त चित्र, वालवालिकाको सांस्कृतिक कार्यक्रम ,कृष्ण कथा ३, ब्रम्हाचारी भक्तको नाट्य प्रस्तुति, आरती र कीर्तन, कृष्ण कथा ४, महाभिषेक, ५६ भोग अर्पण र राति १२ बजे कृष्ण जन्मेको अवसर पारेर महाआरती र कीर्तन गरिने आयोजक समितिले जनाएको छ ।
कार्यक्रमको अवसर पारेर सो दिन निःशुल्क रुपमा महाप्रसाद वितरण गरिने छ भने पाँच हजार भन्दा बढी भक्त जनलाई महाप्रसाद बितरणगरिने जनाइएको छ ।
महाउत्सवमा झापाका विभिन्न ठाउँसहित भारतको सिलिगुढी तथा विहारबाट समेत दशौं हजार भक्तजनको उपस्थिति रहने आयोजकको अनुमान छ ।
कार्यक्रमको अवसर पारेर साउन ३१ गते साँझ ७ः३० बजेदेखि सुप्रशिद्ध भजन गायक राजु अधिकारी र रोशन अधिकारीसहितको टिमले कार्यक्रममा भजन कीर्तन लगायतका सांगीतीक कार्यक्रम प्रस्तुत गर्ने जनाइएको छ ।
वालाजी मन्दिर बिर्तामोड ५ ले आयोजना गर्ने श्रीकृष्ण रथ यात्रामा समेत सहभागीता जनाउने श्री राधा माधव भजनस्थलीले जनाएको छ ।


