कनकाई अनलाईन
लगातारको बर्षापछि खोलामा आएको बाढीले झापाको अर्जुनधारा नगरपालिका ७ स्थित विरिङमा रहेको पक्की पुल आज बाढिले बगाउदा आवागनमा समस्या परेको छ ।
झापाको शनिश्चरे र खुदुनाबारी जोड्ने बिरिङ खोलाको जीर्ण पक्की पुल आज बाढीले बगाएको हो । २०६४ सालमा निर्माण भएको सो पुल दुई वर्षअघि भाँसिएको थियो ।
मनसुन सुरु भएपछि यो वर्षको जेठ १३ गतेदेखि बिरिङ खोलाको सो क्षतिग्रस्त पुल पूर्णरुपमा बन्द गराइएको थियो । स्थानीय जनप्रतिनिधि र प्रहरी चौकी शनिश्चरेको पहलमा सवारीसाधन आवागमनमा रोक लगाइएको थियो ।
झापा र इलाम जोड्ने सबैभन्दा छोटो र सजिलो सो मार्गको पुल बुधवार दिउसो बिरिङ खोलामा आएको बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पुल निर्माणका लागि पटकपटक आग्रह गर्दा पनि पुल नबनेको स्थानीयको गुनासो रहेको छ ।
क्षतिग्रस्त पुल निर्माण नभएपछि अघिल्लो वर्ष पनि सवारीसाधन आवतजावत समस्या भएको थियो । शनिश्चरेबाट पश्चिम मिलडाँडातर्फको बाटो हुँदै सवारीसाधन आवागमन भइरहेको छ ।
बुधवार दिउँसो १२ः३० बजे वर्षाका कारण आएको बाढीले क्षतिग्रस्त रहेको अन्दाजी ३० मिटर पुलको भाग बगाएको हो । गत २०८० साउन २९ गते अर्जुनधारा–७ स्थित बिरिङ खोलाको पक्की पुल वर्षाका कारण भाँसिएको थियो ।
झापा र इलामलाई जोड्ने सो पक्की पुल बाढीले भत्किएपछि सवारीसाधन र पैदलयात्रीलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । वैकल्पिक रुपमा अर्जुनधारा–जलेश्वर धाम हुँदै पश्चिम मिल डाँडा मार्फत मदनपुर निस्कन सकिने तथा मदनपुरबाट साधुटार मार्ग हुँदै जयपुर तर्फ यात्रा गर्न सकिने जनाइएको छ ।
फोटो भत्किएको पक्की पुल ः लीलाराज खड्का गोरखापत्र दैनिक


