Kanakai Online

प्रधानमन्त्री ओलीद्वारा ‘भागीरथा अस्पतालको उदघाटन


शनिवार, असार २८, २०८२ |

कनकाई अनलाईन
प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक समारोहबीच भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन गर्नु भएको छ ।

बुद्धशान्ति गाउँपालिका वडा नं। ३ मा दाताले दिएको १५ कठ्ठा जग्गामा रु। छ करोड ५० लाखको लागतमा १० शैया रहेको अस्पताल निर्माण भएको हो ।

प्रमं ओलीले अस्पतालको उद्घाटन गर्नुहुँदै उपचार सेवाबाट कोही पनि नागरिक वञ्चित हुनु नपरोस् भनेर सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले यस अस्पतालको सञ्चालनपछि बुद्धशान्ति गाउँपालिकाका बासिन्दाले गुणस्तरीय र भरपर्दो आधारभूत स्वास्थ्य सेवा आफ््नै गाउँमा पाउने विश्वास व्यक्त गर्नुभयो ।

नेपालकै पहिलो महिला प्रधानपञ्च भागीरथा न्यौपानेको स्मृतिमा उहाँका छोराछोरीले निःशुल्क प्रदान गरेको १५ कठ्ठा जग्गामा अस्पताल निर्माण गरिएको बुद्धशान्ति गाउँपालिका एवम् अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मनोज प्रसाईले बताउनुभयो ।

स्व। भागीरथा न्यौपाने तत्कालीन बुधवारे गाउँ पञ्चायतको प्रधानपञ्च हुनुहुन्थ्यो । उहाँकै स्मृतिमा अस्पतालको नामाकरण गरिएको हो ।

अस्पतालमा एक जना एमडी, चार जना एमबीबीएस र एक जना रेडियोलोजिस्टसहित छ जना चिकित्सकले उपचार सेवा प्रदान गरिरहेका छन् । जसमध्ये पालिकाले आफ्नै स्रोतबाट तीन जना एमबीबीएस डाक्टर नियुक्त गरेको छ ।

बहिरंग र अन्तरंग चिकित्सकीय सेवा अन्तर्गत अस्पतालमा सामान्य चिकित्सा, सामान्य शल्यक्रिया, स्त्री तथा प्रसुति उपचार, शिशु तथा बाल स्वास्थ्य उपचार, सामान्य दन्त सेवा, प्राथमिक आँखा उपचार, प्रयोगशाला सुविधा, फार्मेसी सुविधा, एक्स रे सुविधा र मुटुको इको सेवा सञ्चालन भइरहेको छ ।

यही साउन १ गतेदेखि अस्पतालमा २४ घण्टै उपचार र बर्थिङ सेवा प्रदान गरिने अध्यक्ष प्रसाईले बताउनुभयो । पालिकाले यही जेठ २६ गते भागीरथा न्यौपाने बुद्धशान्ति अस्पताल ९सञ्चालन तथा व्यवस्थापन० कार्यविधि २०८२ लाई बुद्धशान्ति राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याएको उहाँले जानकारी दिनुभयो ।

कार्यविधि अनुसार पालिकाका अध्यक्ष नै अस्पताल व्यवस्थापन समितिको पदेन अध्यक्ष रहने व्यवस्था छ । अस्पताल सञ्चालनका लागि कार्यविधिले छुट्टै कोषको समेत व्यवस्था गरेको छ ।

इलाम जिल्लासँग सीमा जोडिएको बुद्धशान्ति गाउँपालिकाको एक मात्र सरकारी अस्पतालको रुपमा रहेको यस भागीरथा अस्पतालले बुद्धशान्तिको ५३ हजार जनसंख्यालाई स्वास्थ्य उपचार सेवा प्रदान गर्नेछ भने दक्षिणी इलामबाट आउने सेवाग्राहीले समेत उपचार पाउनेछन् ।
यता आजै प्रधानमन्त्री ओलीले कनकाई नगरपालिकाका २०८ परिवारलाई जग्गाको धनीपुर्जा प्रदान गर्नुहुने भएको छ ।
शनिवार दिउसो साढे ४ बजे प्रधानमन्त्री ओलीले यहाँस्थित कनकाई उद्योग वाणिज्य संघको हलमा कनकाई नगरपालिकाका विभिन्न वार्डका २०८ जनालाई हातमा धनीपुर्जा वितरणको तयारी पूरा गरिसकिएको कनकाई नगरपालिका भुमि इकाई समितिकी संयोजक रन्जिता कट्टेलले कनकाई अनलाईनलाई बताउँनुभयो । २०७४ सालदेखिनै कनकाई नगरपालिकाले यस क्षेत्रका सुकुम्वासी, अव्यवस्थित बसोबासी, दलितहरुका लागि धनीपुर्जा वितरणको कामहरु गरिरहेको भएपनि भनीपुर्जा वितरणको तयारी थालेको ८ बर्ष वितिसक्दा पनि कनकाई नगरपालिकामा यसअघि नगन्य रुपमा मात्रै धनीपुर्जा वितरण भएको थियो । हालसम्म यो ८ बर्षको अवधिमा १६० जनालाई मात्रै धनीपुर्जा वितरण गरिएको नगरपालिकाको अभिलेख रहेको छ ।
शनिवार कनकाईमा वडानम्बर ३ मा मात्रै भुमिहिन सुकुम्वासी ५३ जना, भुमिहिन दलित ३ जना र अव्यवस्थित बसोबासीको आधारमा ७१ ज्ना गरि कुल १२७ घर परिवारले जग्गा धनीपुर्जा प्राप्त गर्दैछन ।
यसवाहेक वडानम्बर ६ मा अवस्थित बसोबासीको आधारमा ६६ परिवार, भुमिहिन दलित तर्फ २ जना र सुकुम्वासीको आधारमा १२ जना गरि जम्मा ८० जनाले र कनकाई ८ नम्बर वार्डमा १ जना सुकुम्वासीले प्रधानमन्त्री ओलीको हातबाट धनीपुर्जा प्राप्त गर्ने भुमि इकाई समिति कनकाईकी संयोजक रन्जिता कट्टेलले बताउँनुभयो ।
कोशी प्रदेशमा सबैभन्दा बढी काम भएर पनि कम सङ्ख्यामा धनीपुर्जा वितरण भएको भनेर आलोचना हुदै आएको कनकाई नगरपालिकामा इतिहासकै सबैभन्दा बढी सङ्ख्यामा एकसाथ धनीपुर्जा प्राप्त गर्ने भएसगै यस क्षेत्रमा खुसियाली छाएको छ । कनकाई नगरपालिका क्षेत्रमा आगामि केहि महिनाभित्रै थप ५००० सुकुम्वासी, अव्यवस्थित बसोवासी र दलितलाई धनीपुर्जा वितरणको तयारी अन्तिम अवस्थामा पुर्याइसकेको कनकाई नगरपालिका भुमि इकाई समितिले जनाएको छ ।

सम्बन्धित खबर