कनकाई अनलाईन
आफ्नो घरमा घरेलु कामदारका लागि राखिएकी बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका बिर्तामोडका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई धरौटीमा छोड्न उच्च अदालतले आदेश दिएको छ ।
उच्च अदालत विराटनगरको इलाम इजलासले बिहीवार २० लाख रुपैयाँ धरौटी लिएर शिवाकोटीलाई छोड्न आदेश दिएको हो ।
न्यायाधीश किरणकुमार पोखरेल र रेखा पाण्डे थापाको संयुक्त इजलासले सो आदेश दिएको हो । उच्चको सो आदेशपछि शिवाकोटी आइतवार थुनामुक्त हुने भएका छन् । बिहीवार कागजपत्र मिलाउन समय नपुगेको , शुक्रवार कानुन दिवस र अर्कोदिन शनिवारको विदा परेकाले आइतवार थुनामुक्त हुने शिवाकोटीका तर्फबाट वकालत गर्दै आउनुभएका कानुन व्यवसायी अशोक पोखरेलले जानकारी दिनुभयो ।
यसअघि गत पुष २२ गते झापा जिल्ला अदालतले शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएपनि शिवाकोटी ५ महिनादेखि बीएण्डसी अस्पतालको क्याविनमै बसेर मुद्धा लडदै आएका थिए । त्यसअघि २४ मंसिरमा पक्राउ परेदेखि नै शिवाकोटी अस्पतालमा बस्दै आएका थिए ।
जिल्ला अदालतले उनको स्वास्थ्य अबस्था ख्याल गर्न आदेश दिएपछि उनी एकदिन पनि कारागार गएनन् । जिल्ला अदालतको आदेशविरुद्ध शिवाकोटीले पुष अन्तिममा बाहिरै बसेर मुद्धा लड्न पाउनेगरी उच्चमा ७३ नं निवेदन दिएका थिए ।
उच्च अदालतको सो आदेशप्रति पीडित बालिकाको परिवारले आपत्ति जनाएका छन् । उनीहरुले बलात्कारजस्तो जघन्य अपराधका अपराधीलाई न्यायालयले उन्मुक्ति दिनु उचित नभएको बताउँदै त्यस आदेशविरुद्ध माथिल्लो निकाय सवोच्च अदालतमा जाने बताएका छन ।
स्कुल ड्रेसमा काँकडभिट्टाबाट उद्दार गरिएकी १५ वर्षीया बालिकाको बयानका आधारमा प्रहरीले शिवाकोटीलाई गत मंसिर २४ गते आफ्नै घर बिर्तामोडबाट पक्राउ गरेका थिए । ती वालिकाले प्रहरीसमक्ष शिवाकोटीले आफुलाई पटक पटक करणी गर्दै आएको वयान दिएकी थिइन ।
बुबाआमा नभएका पीडितलाई घरको काम गरिदिने र पढाइदिने शर्तमा शिवाकोटीले घरेलु कामदारका रूपमा राखेका थिए । घरमा रहेका बेला आफूलाई करणी गरेको पीडितको प्रारम्भिक बयान थियो । त्यसपछि इलाका प्रहरी कार्यालय बिर्तामोडले उनलाई पक्राउ गरेको थियो ।
शिवाकोटी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट बिर्तामोड नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।


