Kanakai Online

झापाका सहायक प्रजिअको कार्यकक्षमै कुटाकुट, पाँच पक्राउ


मङ्गलवार, माघ २९, २०८१ |

कनकाई अनलाईन
जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमै कुटाकुट भएको छ ।

कुटाकुट गर्ने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगार ठगीका विषयमा हिजो डाकिएको छलफलमा सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालको कार्यकक्षमै कुटाकुट भएको हो । भद्रपुर ६ भानुचौकका संजय यादब र सुरेन्द्र यादबले कम्बोडिया पठाउने नाममा ठगी गरेको उजुरीका विषयमा जिल्ला प्रशासन कार्यालयमा छलफल डाकिएको थियो ।

ठूलो संख्यामा सहायक प्रजिअको कार्यकक्षमा प्रवेश गरी होहल्ला गर्दै कुटाकुट गरेको जनाइएको छ । आफूले चुप लाग्न आग्रह गर्दा पनि होहल्ला गरेपछि प्रहरी बोलाएर पक्राउ गर्न लगाएको सहायक प्रजिअ नेपालले बताए । आफ्नो कार्यकक्षमा होहल्ला गरेपनि कुटाकुट कार्यकक्षभन्दा बाहिर गरेको उनले जानकारी दिए ।

कुटाकुट गर्ने पाँचजनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगिएको थियो । उनीहरुलाई साँझपख छोडिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय चौहानले बताए । भद्रपुर १० का सागर मगर , विष्णु खड्का, वडा नं ४ का उत्सव राय , वडा नं ९ का प्रवीण राई , वडा नं ८ का उज्वल खवास कम्बोडिया जानेक्रममा ठगीमा परेका हुन् ।