कनकाई अनलाईन
सशस्त्र प्रहरीको टोलीले झापामा ठूलो परिमाणमा अवैध माछा बरामद गरी नष्ट गरेको छ ।
सोमवार बिहान ११ः३० बजे सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वाटर झापाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक लोकेन्द्र पोख्रेलको कमाण्डमा खटिएको गस्ती टोलीले पुर्वपश्चिम राजमार्गस्थित कनकाई नगरपालिका १ जामुनवारी चौकमा पिकअपमा अन्यत्र लैजादै गरेको अन्दाजी ४लाख २०हजार मूल्यबराबरको १४०० के.जि. अबैध माछा बरामद गरेको हो ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र. ०१–०२–००–२ च ४८४९ नम्बरको पिकअप गाडीलाई शंका लागेर चेकजाँच गर्ने क्रममा अबैध माछा फेला परेको थियो । सवारी साधन तथा चालक सुनसरी इनरुवा– ७ बस्ने २४ वर्षीय दिलकुमार चौधरीलाई समेत नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि पशु क्वारेन्टाइन कार्यालय काँकडिभट्टाका निमित्त कार्यालय प्रमुख मुकेशकुमार सिंहको टोलीलाई बुझाएको सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वाटर झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक महेशराज बिष्टले जानकारी दिनुभयो ।
बरामद माछा क्वारेन्टाइन कार्यालयले सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वाटर झापाको हाताभित्र नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानीय जनप्रतिनिधि तथा पत्रकारहरुको रोहबरमा खाल्डो खनेर नष्ट पारेको समेत बिष्टले जानकारी दिनुभएको छ । झापाका कतिपय पालिकाहरुले भारतीय र मरेका माछालाई बजारमा बिक्री गर्न प्रतिबन्ध समेत लगाउँदै आएका छन । नेपाल भारत खुल्ला सिमाका कारण विना क्वारेन्टाइन चेकजाँच भारतीय कम गुणस्तरका माछाहरु नेपाली बजारमा भित्रिने गरेसगै प्रहरीले माछामा समेत निगरानी बढाउदै लगेको छ ।