कनकाई अनलाईन
नेपाल भारत सीमावर्ती झापा गाउँपालिकामा आजदेखि शुरु नेपाल, भारतलगायतका राष्ट्रका मुस्लिमहरुको दुई दिने धार्मिक कार्यक्रमलाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
धार्मिक सद्भाव भड्किन सक्ने भन्दै सुरक्षा व्यवस्था कडा बनाइएको हो । भारतबाट आउने प्रत्येक मुस्लिमलाई चेकजाँच गर्ने गरिएको छ । प्रहरीले भारतीय नम्वर प्लेटका गाडीहरुलाई कार्यक्रम स्थलमा आउन दिएको छैन । उनीहरुलाई सीमामा रोक्ने काम भइरहेको छ । कार्यक्रममा नेपाल प्रहरीका डीएसपी कृष्णकुमार चन्दको कमाण्डमा १२१ जना र सशस्त्र प्रहरीका डीएसपी विश्वराज योञ्जनको कमाण्डमा ७४ जना प्रहरी परिचालन गरिएको छ ।
भारतबाट आउनेहरुलाई परिचय खुल्ने कागजात हेरेर मात्र कार्यक्रममा प्रवेश गर्न दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका डीएसपी चन्दले बताए । उनले सो धार्मिक कार्यक्रमको संवेदनशीलतालाई लिएर सुरक्षा व्यवस्था कडा पारिएको जानकारी दिए । नेपाल , भारतसंगै बंगलादेश , पाकिस्तानका मुस्लिमहरु आउने बताइएको सो कार्यक्रमका लागि प्रहरी प्रशासनले यसअघि अनुमति दिन मानेको थिएन । पछि धार्मिक सद्भाव भड्किन नदिने आयोजकले प्रतिवद्धता जनाएपछि जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको हो ।
झापा गाउँपालिका वडा ५ पन्थापाडास्थित विरिङ पुलको मुनि मुस्लिमहरुको दुई दिवसीय धार्मिक कार्यक्रम विराट इज्तेमा शुरु भएको हो । अहले हदिस झापाका अध्यक्ष मोहम्मद ताहिरको अध्यक्षता तथा भारत विहार किशनगञ्जका धार्मिक गुरु मौलना सईदुर रहमानको प्रमुख आतिथ्यमा कार्यक्रम शुरु भएको हो । अहले हदिस झापाका सचिव वासेद अलीका अनुसार यो धार्मिक कार्यक्रम आजसम्म संचालन हुने छ । सचिव अलीले पहिलो दिन मोरङका मौलना अतहर मदनी र भारत झारखण्डका मौलना सादाव खान मुख्य वक्ता रहेको जनाएका छन् । उनका अनुसार कार्यक्रममा धार्मिक गुरुहरु आउने क्रम जारी रहेको छ । करिव १५ हजार जना सहभागी अटाउने पण्डाल निर्माण गरिएको छ । आयोजकले ७ हजार जना सहभागी हुने दावी गरेको छ । पहिलो दिन सहभागीहरुको भीड देखिएको छ ।
कार्यक्रममा निःशुल्क आँखा जाँच र प्राथमिक उपचारको व्यवस्था गरिएको छ । कार्यक्रम स्थलहरुमा अस्थायी रुपमा बस्ने ठाउँको व्यवस्था गरिएको छ भने अस्थायी शौचालय निर्माण गरिएको छ । एकैदरमा खानाका होटलहरु संचालनमा छन् । सादा खानालाई रु १०० सय , चिकेन खानालाई रु १५० र विरयानी खानालाई रु २०० तोकिएको छ ।
पहिलो दिनको धार्मिक इज्तेमा कार्यक्रममा प्रमुख अतिथि मौलना सईदुर रहमान , झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलिया, प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिया , वडा अध्यक्षहरु राजकुमार यादव , हिमालकुमार चम्लागाई , सुवाषलाल गणेश , मोहम्मद ताहिर , मुल्वी , कृष्णप्रसाद राजवंशी , सखिचन्द्र ठाकुर , मौलना अतहर मदनी , मौलना सादाव खानलगायतको उपस्थिति रहेको थियो ।