Kanakai Online

आज पनि मेची राजमार्गमा यातायात ठप्प सुरक्षाघेराबिच ,केबलकार निर्माण जारी


बुधवार, माघ १६, २०८१ |

कनकाई अनलाईन
ताप्लेजुङको बलुडाँडामा भएको झडपलाई लिएर मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संयुक्त संघर्ष समितिलगायतले आह्वान गरेको बन्दका कारण आज पनि मेची राजमार्गमा यातायातका साधन संचालन हुन सकेका छैनन् ।

झापा जिल्लाबाट मेची राजमार्ग हुँदै इलाम, पाँचथर र ताप्लेजुङ जाने सवारी साधनहरु पूर्ण रुपमा ठप्प रहेका छन् । त्यस्तै इलाम,पाँचथर र ताप्लेजुङमा पनि यातायातका साधनहरु चल्न सकेका छैनन् । तर, बजार पसल, सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरु भने खुला रहेका छन् ।

माघ १२ गते ताप्लेजुङको फुङलिङ –११ स्थित बलुडाँडामा भएको झडपलाई लिएर मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संयुक्त संघर्ष समितिलगायतले हिजोदेखि मेची राजमार्ग, तमोर करिडोर, तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाका, ताप्लेजुङ जिल्लाभित्र अनिश्चितकालीन यातायात बन्द आह्वान गरेका हुन् ।

उता पाथीभरामा केबलकार निर्माण कार्य जारी रहेको छ । हिजो बिहान ९ बजेदेखि दिउँसो ४।२० बजेसम्म फुङलिङ – ११ स्थित काफ्लेपाटीमा केबलकार निर्माणको लागि बटम स्टेसनमा एउटा स्काभेटर प्रयोग गरी फाउन्डेसन खन्ने काम भएको थियो । उक्त स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिएका थिए ।