कनकाई अनलाईन
काठमाडौँ — कांग्रेस नेता प्रकाशमान सिंहले मतदाताको विश्वासमा विगतको जस्तो आँच आउन नदिने बताएका छन् । मंगलबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा विजयी बन्नुभएका नेता सिंहले विजयपछि नेता, कार्यकर्ताहरुसँगको शुभकामना आदानप्रदानका क्रममा जनताले दिएको विश्वासलाई गुम्न नदिने बताएका हुन् ।
आम मतदाताहरुका लागि जनप्रतिनिधिहरुसँग गुनासो पोख्ने, सुझाव दिन पाउने गरी गुनसो सुन्ने काममा आफू निरन्तर लाग्ने बताए । उनले खानेपानीको समस्या समाधान गर्न मेलम्चीको पानी काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा छिटो ल्याउनका लागि
काम गर्ने बताए । उनले काठमाडौंका नदीहरु वागमती, विष्णुमती,रुद्रमती, इच्छुमतीमा १२ महिना नै पानी बगाइ सफा बनाउने र प्रदूषण नियन्त्रणका लागि काम गर्ने बताए ।
त्यस्तै नेता सिंहले प्रधानमन्त्रीका लागि प्रस्ताव आए पछि नहट्ने बताए । आफू हरेक कोणबाट प्रधानमन्त्रीका लागि योग्य रहने उनको भनाइ छ ।
‘नयाँ संविधान जारी गरिसकेपछिको प्रथम आम निर्वाचनमा पनि म नेपाली कांग्रेसको संसदीय दलको नेताको लागि प्रतिस्पर्धा गरेकै हो । देशभरबाट कांग्रेसको सांसद जितेर आएकाहरुको छलफल हुन्छ । संसदीय दलको नेताको लागि छान्न प्रसेस जान्छ । विधि र प्रसेसमा गइसकेपछि सबै साथीहरुसँग सल्लाह गरेर गर्नेकुरा हो । परिस्थिति फरक भइरहेको छ । म प्रधानमन्त्रीको म योग्य छु, अवसर पाएमा च्यालेन्ज मिट गर्नको लागि अफर आयो भने पछि हट्ने कुरा आउँदैन,’ उनले भने ।
सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका कांग्रेस नेता सिंह काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट १२५ मतले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पछि पार्दै विजयी भएका हुन् । नेता सिंहले ७ हजार १४३ मत ल्याउँदा प्रतिद्वन्द्वी मिश्रले ७ हजार १८ मत मात्रै ल्याउन सफल भए ।