Kanakai Online

एमालेको गठबन्धन राष्ट्र विरोधीहरुको गठबन्धन हो– युवा नेता तामाङ


सोमवार, कार्तिक २१, २०७९ |

कनकाई अनलाईन
बिर्तामोड । नेकपा माओवादी केन्द्रका युवा नेता तथा केन्द्रीय सदस्य रञ्जित तामाङले नेकपा एमालेले बनाएको गठबन्धन राष्ट्र विरोधीहरुको गठबन्धन भएको बताएका छन् । नेता तामाङले लोकतान्त्रिक–बाम गठबन्धनको चुनावी प्रचारप्रसारको क्रममा सोमबार बिर्तामोडमा त्यस्तो धारणा व्यक्त गरेका हुन् ।


प्रतिपक्षीले अपवित्र गठबन्धन भनेर आरोप लगाइरहेको बेला नेता तामाङले लोकतान्त्रिक–बाम गठबन्धन राष्ट्रवादी गठबन्धन भएको बताए । ‘यो राष्ट्रवादीहरुको, अग्रगामीहरुको, परिवर्तनका पक्षधरको, वास्तविक अर्थमा सुशासन र स्थीरताका पक्षधरहरुको गठबन्धन हो,’ उनले भने । एमालेको गठबन्धनले विभिन्न आरोप लगाएर जनतालाई भ्रमित पार्न खोजेकालेपनि गठबन्धनका उम्मेदवारहरुलाई जिताउन उनले आग्रह गरे ।
नेता तामाङले स्वतन्त्र उम्मेदवारहरुले लामो समय राजनीतिमा त्याग गरेका नेताहरु माथि हिलो छ्याप्ने काम गरेको बताए । ‘कतिपय स्वतन्त्र मान्छेहरु आज राजनीतिक दलहरुलाई, राजनीतिक नेतृत्वलाई जसले लामो समय त्याग, समर्पण गरेर आएको छ तिनिहरुलाई टिकाटिप्पणी गरेर, तिनिहरुको तेजोबध गरेर, तिनिहरुलाई नङ्ग्याएर, तिनिहरुलाई हिलो छ्यापेर, आज राजनीतिक नेताहरु फोहोरी छन्, नाङ्गै हिडिरहेका छन् भनेर बद्नाम गर्न खोजिरहेका छन्,’ उनले भने,‘तिनिहरुलाई हामीले भन्नु पर्छ तिमीहरुले लगाएको गुलियो नारामा जनता भुलिने छैनन् ।’
जितेर जाने नेताहरुले यस क्षेत्रका जनताको के चाहना र आवश्यकता छ, यहाँको शिक्षा क्षेत्रमा कसरी कायापलट गर्न सकिन्छ, स्वास्थ्य क्षेत्रलाई कसरी जनमुखी बनाउन सकिन्छ भन्ने बिषय मनन् गर्न आग्रह गरे । हामीले नारालाई नारामा मात्र सिमित नगरी जितेर गएपछि साँच्चिकै यहाँको विकासमा लाग्न गठबन्धन दलका उम्मेदवारहरु अब्बल रहेको बताए । हरिकुमार राना बामपन्थी, कुशल राजनीतिज्ञ भएकाले आफ्नो भागमा परेको यस क्षेत्रमा माओवादी केन्द्रले रानालाई भूमिका दिएको बताए ।

सम्बन्धित खबर